ताजा समाचार:
Search

म्याग्दीका गाउँमा भएका सूचना केन्द्रका सामान अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज
जेठ १६ गते ।
म्याग्दीका ग्रामिण क्षेत्रमा स्थापना भएका सूचना केन्द्रमा रहेका सूचना प्रबिधिका सामानहरु प्रयोग नहुँदा अलपत्र परेका छन् । केन्द्रमा रहेका सूचना प्रबिधिका लाखौका सामान प्रयोग नहुँदा अलपत्र परेका हुन् ।

चिठीपत्रको काम आधुनीक सञ्चारका साधनले विस्थापित बनाएपछि जिल्ला हुलाक कार्यालयले सूचना केन्द्रमामा कम्प्युटर कक्षा, इमेल, ईन्टरनेट, फ्याक्स, फोटोकपी, टेलीफोन सेवा दिन स्थापना गरेको केन्द्रमा सेवाग्राहीनै आउँदैनन् ।

सेवाग्राहीले सूचना केन्द्रको सुबिधा उपभोगका लागि चासो नदेखाएको दरवाङ स्थित सूचना केन्द्रका प्राबिधिक खिम रोकाले बताउनुभयो । उक्त केन्द्रमा रहेको दुई वटा कम्प्युटर र फोटोकपी र लेमीनेसन मेसीन एक वर्षदेखि मर्मत अभावमा प्रयोग बिहीन बनेको छ ।

अन्य ठाउँहरुमा भन्दा सस्तो र सुलभ तरीकाले सेवा प्रवाह भएपनी केन्द्रमा पर्याप्त स्रोत साधन र व्यवस्थापनको कमी रहेको दरवाङका युवा सुमन गौतमले बताउनुभयो । शिख, दाना, राखु भगवती, घतान, वावियाचौर, दरबाङ्ग र ताकम गाविसको ईलाका हुलाका कार्यालय तथा बेनपा १ रत्नेचौर र १४ सिंगामा रहेको सहकारी संस्थामा सूचना केन्द्र स्थापना गरिएको थियो ।
गाउँका सर्वसाधारणलाई सर्वसुलभ रुपमा फोटोकपि, इमेल, टेलीफोन जस्ता सुविधा उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गरेपनि सेवाग्राही आकर्षित हुन नसकेको जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले बताउनुभयो ।

विद्यालय र समुदाय स्तरमा सूचना केन्द्रको सुबिधाका बारेमा प्रचारप्रसार गरेपनि सेवाग्राहीनै नआउँदा समस्या भएको अधिकृत श्रेष्ठले बताउनुभयो । विद्युत र भरपर्दो इन्टरनेट नहुँदा सूचना केन्द्र सञ्चालनमा समस्या देखिएको उहाँको भनाई छ ।

इलाका हुलाक कार्यालयमा सेवाग्राही आकर्षित हुन नसकेपछि पछिल्लो समय सहकारी संस्थामा सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रमा दुई थान कम्प्युटर, दुई वटा लेमिनेसन मेसीन, एक वटा फोटोकपी मेसीन र एक जना प्राबिधिकको व्यवस्था गरिएको छ ।