विकल्प न्यूज/बेनी
जेठ १५ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा नवौं गणतन्त्र दिवस २०७३ मनाइएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको अयोजनामा बाजागाजा सहित शनिबार विहान राजनीतिक दल,कर्मचारी,विभिन्न संघसस्था,विद्यार्थी,सर्वसाधारण र पत्रकार सहित बेनीबजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।
मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको शनिबार नौ वर्ष पुगेको छ । सो अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा गणतन्त्र दिवस २०७३ मनाइएको हो ।
प्रभातफेरी पछि जिविस सभाहलमा आयोजित अन्तक्रिया कार्यक्रमका वक्ताहरुले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको पूर्ण कार्यन्वयन हुनुपर्नेमा जोड दिएका थिए । संविधानको कार्यन्वयन सँगै मुलुकलाई समृद्ध बनाउन तर्फ सवै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि माननिय जिल्ला न्यायाधिस रामप्रसाद शर्माले नयाँ संविधानको निर्माण सँगै मुलुक समृद्धीको दिशा तर्फ अग्रसर भएको बताउनुभयो । उहाँले नयाँ संविधानलाई पूर्ण रुपमा कार्यन्वयन गर्नका लागि सवै पक्षलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य,नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ,नेकपा एमालेका सचिवालय सदस्य कृष्णकुमार वि.क,नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल लगायतले नयाँ संविधानलाई पूर्णरुपमा कार्यन्वय गरेमा मात्र नेपाली जनताका आंकाक्षाहरु पुरा हुने बताएका थिए । संविधानको कार्यन्वयन गर्न सवै पक्षहरुले सहयोग गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो । नेपाली जनताको लामो संघर्षका कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताउँदै प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न तर्फ सवैको ध्यान जानुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।
यसै गरि कार्यक्रममा राप्रपाका उपाध्यक्ष विरवहादुर थापा,राजमोका अध्यक्ष छवि विक,अखण्ड पाटीका उपाध्यक्ष डम्बरवहादुर बानियाँ,गैसस महासंघकी केन्द्रिय सदस्य दिवा पुन,म्याग्दीका उद्योग वाणिज्य संघका अध्यक्ष जिवन वहादुर विश्वकर्मा र पत्रकार महासंघका कार्यवाहक अध्यक्ष ठाकुरप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थानीय विकास अधिकारी एवम् गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिका संयोजक चिरञ्जीवी पौडेलको अध्यक्षता,योजना अनुगमन तथा प्रशासकिय अधिकृत विष्णुप्रसाद पौडेलको स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन स्थानीय विकास कोषका कार्यकारी सचिव राजेन्द्र आचार्यले गर्नुभएको थियो ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणासँगै दुई सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य भएको हो ।