म्याग्दीमा कृषि र भेटेरिनरीको बजेट सार्वजनिक


ठाकुरप्रसाद आचार्य /बेनी
साउन २८ गते ।

म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यक्रम सार्वजनिक गरेका छन् ।


कृषि र पश्ु विकास कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि ८ करोड ३१ लाख ६० हजार रुपियाँ बजेट प्राप्त गरेका हुन । सोमबार बेनीमा आयोजना गरेको कार्यक्रम मार्फत कृषि र पशुसेवा विज्ञ केन्द्रले बजेट सार्वजनिक गर्दै कृषि र पशु विकासका क्षेत्रमा विनियोजित भएको बजेट पूर्ण रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


संघ र प्रदेश सरकारबाट गरेर चार करोड ५९ लाख ७२ हजार रुपियाँ बजेट प्राप्त गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले किसानलाई लक्षित गरेर कृषि विकासका कार्यक्रमहरु संचालन गर्न तीन करोड ३३ लाख २५ हजार रुपियाँ बजेट प्राप्त भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।

कृषि प्रसार तथा तालिम संचालनका लागि ३२ लाख ६५ हजार,खायन आलु प्रवद्र्धनका लागि एककरोड २० लाख,खाद्यबाली प्रवद्र्धनमा १३ लाख र तरकारी बाली प्रवद्र्धन कार्यक्रमका लागि १५ लाख पचास हजार रुपियाँ चालु आर्थिक वर्षमा खर्च हुने कार्यालय प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो ।

यसैगरी सुन्तला जात फलफूल विकास कार्यक्रममा ६७ लाख, कृषि तथ्याङ्क तथा बजार विकास कार्यक्रमका लागि १० लाख ९० हजार,फलफूल विकास कार्यक्रमका लागि २१ लाख ६० हजार,मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धनका लागि ६ लाख,रैथाने बाली प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख,जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रमका लागि ५ लाख र पोषण सुरक्षा कार्यक्रमा २० लाख रुपियाँ बजेट विनियोजन भएको छ । अघिल्लो वर्ष भन्दा यसपाली बजेट घटेर आएको उहाँले बताउनुभयो । किसान लक्षित कार्यक्रमहरु लगत्तै कार्यन्वयनमा लैजाने उहाँले बताउनुभयो ।


यस्तै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत पशुस्वास्थ्य कार्यक्रका लागि २६ लाख २० हजार,पशु आहारा प्रवद्र्धन कार्यक्रम संचालन गर्न पाँचलाख दश हजार,पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रममा ४७ लाख,पशुमा पूर्ण खोप कार्यक्रम संचालन गर्न ८० लाख र अन्य कार्यक्रम संचालनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले कृषि र पशु विकासका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले परिश्रमी किसानहरुलाई अनुदान उपलब्ध गराएर प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई थियो । राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्दै कृषि उत्पादन वृद्धी गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्री,बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछाने,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन लगायतले कृषि र पशु विकासका कार्यक्रमहरु सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गरेर गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि,स्थानीय तहका कृषि तथा पशुसेवा तर्फका प्राविधिकहरु र कृषकहरुको सहभागिता रहेको थियो ।