कम्प्युटर सिक्ने आमाहरुको रहर


ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज
असार २५ गते ।


बेनी बजारको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्यनरत कल्पना सुनारले नेपाली र अंग्रेजी दुवै अक्षरहरु सजिलै टाइप गर्नुहुन्छ । उहाँ कक्षा ९ मा अध्यनरत हुनुहुन्छ । पढाइ सँगै सुनारमा कम्प्युटर सिक्ने रहर जागेर आएको छ ।
सानो उमेरमै विवाह भएपछि बीचमै पढाई छाड्नु भएकी पर्वतको जलजला गाउँपालिका ४ लामाखेतीकी सविना दर्जीले पनि कम्प्युटरमा नेपाली र अंग्रेजी दुबै अक्षरहरु टाइप गर्न सिक्दै हुनुहुन्छ ।

कल्पना र सविना मात्र होइन उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत ४० जना मध्य दशजना आमाहरुले सजिलै कम्प्युटर चलाउन सक्ने भइसक्नुभएको छ । आमाहरुलाई कम्प्युटर सिकाउँन उज्यालो वैकल्पिक विद्यालयले कम्प्युटर ल्याबको स्थापना गरेको छ ।
‘‘आफ्नो व्यक्तिगत प्रयोगका लागि पनि कम्प्युटर सिक्नुपर्ने रहेछ,सूचना प्रविधिको विकासले गर्दा कम्प्युटर अनिवार्य रुपमा चलाउन सक्ने हुनुपर्ने रहेछ,’’कल्पनाले भन्नुभयो, ‘‘मैले जिन्गीमै कम्प्युटर चलाउन सक्दिन होला भन्ने लागेको थियो, सिक्ने आँट गरे,अहिले अलिअलि चलाउन सक्ने भएकी छु ।’’ कम्प्युटर सिक्न थालेको एकहप्तामै नेपाली र अंग्रेजी अक्षर टाइप गर्न सक्ने भएको उहाँले सुनाउनुभयो ।

कक्षा ८ मा अध्ययनरत ३० वर्षीय सविनाले पनि कम्प्युटरमा नेपाली र अंग्रेजी टाइप गर्न सक्नेहुनुभएको छ । ‘‘सानै उमेरमा विवाह भयो, कक्षा ७ पढेर छाढेँ । पढ्ने चाहना भएर पनि घरमा पहिला पढ्ने वातावरण थिएन । अहिले पढाईको महत्व बुझेँ र यहाँ कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी छु । कम्प्युटर सिकेर राम्रो सँग नेपाली र अंग्रेजी टाइप गर्न सक्ने हुनु मेरो रहर छ, ’’सविनाले भन्नुभयो । पढाईलाई परिवारले पनि साथ दिएको उहाँले बताउनुभयो ।

आमाहरुले पढ्नलाई रुचि देखाएका कारण छोटो समयमा उहाँहरुको पढाईमा सुधार भएको विद्यालयकी प्रमुख एवम् शिक्षक विन्दु कार्कीले बताउनुभयो । आमाहरुलाई कम्प्युटर सिकाउन कम्प्युटर ल्याबको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । ल्याबमा दश वटा कम्प्युटर र प्रिन्टरको समेत व्यवस्था गरिएको छ । आमाहरुलाई कम्प्युटर सम्बन्धि सामान्य ज्ञान र सीप सिकाउने गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कक्षा ७ देखि हामीले कम्प्युटर शिक्षालाई समावेश गरेका छौं । एक देखि दुईहप्ता भित्रमा आमाहरुले नेपाली,अग्रेजी दुबै अक्षरहरु टाइप गर्न सक्ने हुनुभएको छ । कम्प्युटर सिक्ने आमाहरुको ठूलो रहर छ ।’’ आमाहरुको कम्प्युटर सिक्ने रहरलाई पुरा गरिदिन विद्यालयले कम्प्युटर ल्याबको स्थापना गरेको उहाँले बताउनुभयो ।

विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ शिक्षक कार्कीले भन्नुभयो, ‘‘आमाहरुले पढाईमा जाँगर देखाउनुभएको छ । छोटो समयमै उहाँहरुमा सिकाई उपलब्धी देखिएको छ । आमाहरुलाई पढाउन पाउँदा हामी शिक्षकहरुलाई पनि खुसी लागेको छ ।’’

सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहने गरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो ।

अहिले सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन हँुदै आएको छ । २०८० को एसईइमा ४ जना आमाहरु सहभागी हुनुभएको छ । विद्यालय सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गर्दै आएका छन् ।

सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा विद्यालयमा कार्यरत ६ जना शिक्षकको तलब सुविधा र व्यवस्थापन खर्च जुटाउन धौधौ पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताउनुभयो । चन्दा सहयोग जुटाएर विद्यालयलाई निरन्तरता दिँदै आएको उहाँको भनाई छ ।