ताजा समाचार:
Search

कक्षा चारको किताबमा त्रुटी ः म्याग्दीको भूगोल कास्कीमा

विकल्प न्यूज/बेनी
चैत २१ गते ।


कक्षा चारको किताबमा त्रुटी भेटिएको छ । सरकारी पाठ्यपुस्तकको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा किताबमा म्याग्दीमा रहेका पर्यटकीय स्थल, नदीनाला र भुगोललाई कास्की जिल्लामा पर्दछन् भनेर लेखिएको भेटिएको हो ।

पाठ्याक्रम विकास केन्द्रले तयार पारेको किताबको ९३ नम्बर पेजमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थलहरु पुनहिल,रुप्से र कालगण्डकी नदीलाई कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछन् भनेर लेखिएको छ ।

किताबमा लेखिएको छ, ‘‘सीताको घर अन्नपूर्ण गाउँपालिका कास्कीमा पर्दछ । यसको पूर्वमा माछापुच्छ«े गाउँपालिका,पश्चिममा म्याग्दी जिल्ला,उत्तरमा मनाङ जिल्ला पर्दछ । दक्षिणमा पोखरा महानगरपालिका पर्दछ । यसको नाम अन्नपूर्ण हिमालबाट राखिएको हो । यस गाउँपालिकामा प्रशस्त लालीगुराँस पाइन्छ । माछापुच्छ«े धौलागिरी,अन्नपूर्ण र निलगिरी जस्ता हिमालहरु र सूर्योदयको अवलोकन गर्न पर्यटकहरु आउने हुँदा यस क्षेत्रले पर्यटकीय महत्व राखेको छ । कालीगण्डकी नदी,रुप्से झरना तथा पुनहिल जस्ता पर्यटकीय धरोहरहरु रहेका छन् ।’’ भनेर उल्लेख गरिएको छ ।


तीन वर्ष अघि तयार पारिएको किताबमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने रुप्से झरना,पुनहिल र कालीगण्डकीलाई कास्कीको अन्नपूर्णमा पर्दछन् भनेर उल्लेख गरिएपछि गाउँपालिकाले त्रुटी सच्याउन लिखित रुपमा अनुरोध गरेको गाउँपालिका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो ।
अध्यक्ष पुनले भन्नुभयो, ‘‘किताबमा भएको त्रुटीका बारेमा हामीले शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी मार्फत पाठ्यक्रम विकास केन्द्र सानोठिमी,भक्तपुरलाई जानकारी गराएका छौं । बालबालिकाले पढ्ने किताबमा भएको यो त्रुटी गम्भिर प्रकारको हो ।’’ तीनवर्ष सम्म बालबालिकालाई गलत कुराहरु सिकाइरहेको उहाँको भनाई थियो ।

किताबमा त्रुटी फेला परेपछि लेखेर त्रुटी सच्चाउन लेखि पठाएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘किताबमा भएको त्रुटीका बारेमा हाम्रो पनि ध्यान पुगेको थिएन । गाउँपालिकाले त्रुटी फेला पारेर सच्याउन भनेपछि पाठ्यक्रम विकास केन्द्रलाई जानकारी गराएका छौं । यो वर्षको किताबहरु छापिसकेर आइसकेका छन् । अर्को वर्ष आउने किताबमा सुधार भएर आउछ ।’’