ताजा समाचार:
Search

मल्लाजको दह हत्याकाण्ड ः शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा ल्याइयो

विकल्प न्यूज\बेनी
चैत २० गते ।


पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएको एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्तिरसमुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आज साँझ प्रहरीले घटनाको मुचुल्का उठाएर शबलाई पोष्टमार्टमका लागि बेनी अस्पतालमा लगिएको छ ।

जिसी दम्पती घरभित्र मंगलबार बिहान रगताम्य अवस्थामा मृत फेला परेपछि आफन्तले जिल्ला प्रहरी कार्यालय प्रर्वतलाई खबर गरेका थिए।जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालका अनुसार, मंगलबार दिउँसो पोखराबाट तालिमप्राप्त कुकुर सहितको विशेष टोली घटनास्थल आइपुगेपछि थप अनुसन्धान अगाडी बढाइएको छ । दम्पतीको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा लगिएको छ। मंगलबार मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा पठाइएको डिएसपी भुसालले बताउनुभयो ।

मृतक दम्पतीको घाँटी र टाउकोमा गहिरो चोट देखिएको छ । ‘अपरिचित समुहररव्यक्तीले धारिलो हतियार प्रहार गरेर जिसी दम्पतीको हत्या गरेको पाइएको छ ।श्रीमानको टाउको र श्रीमतीको घाँटीमा चोट देखिन्छ ,’डिएसपी भुसालले भन्नुभयो ।

‘हामीले घरको ढोका बन्द गरेर घटना स्थललाई सुरक्षित गर्ने काम गरेका थियौं । तालिमप्राप्त कुकुर सहितको विशेष टोलीले घटनास्थलमा घटनाबारे थप अनुसन्धान गरीरहेको छ भने मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा पठाइएको छ ,’ डिएसपी भुसालले भन्नुभयो ।

घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडी बढाइएको उहाँको भनाइ छ । घटनाको कारण खुल्न सकेको छैन । डिएसपी भुसालले भन्नुभयो,‘गयराति ९ बजेसम्म उहाँहरु छिमेकीसँग गफ गर्दै बस्नुभाछ ,त्यसपछि घटना घटेको देखिन्छ ।’ घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । जिसी दम्पतीका तीन छोरा हुनुहुन्छ ।गाउँमै खेती गर्दै आउनुभएका जिसी दम्पतीले किराना पसल समेत सञ्चालन गर्नुहुन्थ्यो ।

बेनीमा पसल गरेर बस्ने जेठो छोरा रबिनले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई घरमा बुझ्न लगाउनुभएको थियो । छिमेकीले घरको ढोकामा बाहिरबाट चापी लगाएको बताएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका फुकालेर हेर्दा बुबाआमा मृत अवस्थामा देखेको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बहादुर जिसीले बताउनुभयो ।लगत्तै वडा अध्यक्ष प्रकाशबहादुर क्षेत्री , गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य सहितजनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

उहाँले भन्नुभयो, ‘सोमबार बेलुका साढे आठ बजेको समयमा सूर्यबहादुरले फोन गर्नुभएको थियो । घर नजिकको पाखोमा डढेको लागेको बताउनुभयो । उहाँले पाखोमा लागेको डढेलो निभाउदै हुनुहुँदो रहेछ । मैले डढेलो निभाउन अरु मानिसहरु ल्याएर आउ भन्दा उहाँले पर्दैन निभ्न लागिसकेको छ भन्नुभयो ।’ अहिले विहान दुःखद घटना सुन्नु प¥यो वडा अध्यक्ष जिसीले बताउनुभयो । शव हेर्दा विभत्स तवरले हत्या गरेको हुनसक्ने उहाँले बताउनुभयो । घटनाको प्रकृति हेर्दा लुटपाट गर्ने उद्देश्यले आएर हत्या गरेको हुनसक्ने स्थानीयहरुले आर्शका गरेका छन् ।