ताजा समाचार:
Search

बेनीमा बालमैत्री स्थानीय शासन कार्यक्रम शुरु

बेनी, १९ चैत ।

म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ । नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच स्थापित गरेर बालमैत्री बनाउने तयारी थालिएको हो ।

अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधी र सहभागीहरुले बेनी नगरपालिकालाई बालमैत्री बनाउन कार्ययोजना तयार पारेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका परामर्शदाता रुपान्तरण नलेज हवका बिनोद शर्मा (धौलागिरि)ले बताउनुभयो ।

वडा, टोल र समुदाय स्तरमा तिब्रता र निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमैत्री स्थानीय शाषनका सबै सूचक पुरा गर्न स्रोत व्यवस्थापन र कार्यक्रम तथा नीति बनाउने बताउनुभयो । उपप्रमुख ज्योती लामिछानेले सामाजिक परिचालन, संघ संस्थाको समन्वय गरेर बालमैत्री बनाउन बजेट व्यवस्थापन र कार्यक्रम तय गर्ने बताउनुभयो ।

आगामी २ वर्षभित्र बेनी नगरपालिकालाई बालमैत्री बनाउने रणनीति तयार पारी कार्यान्वयन गरिने उप्रमुख लामिछानेले बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शाषन कार्यक्रममा बजेट अभाव हुन नदिन समन्वय गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, बाल क्लव र विद्यालयका प्रअ प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।