क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक

विकल्प न्यूज\बेनी
चैत ११ गते ।

म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७ जनाले नियमित औषधि सेवन गरिरहेको बताइएको छ ।

जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जनाा नयाँ क्षयरोग भेटिएका छन् । त्यस्तै मालिका गापा ४ जना, मंगला गापा २ धवलागिरी २ जना र रघुगंगा गाउँपालिकामा २ जनामा क्षयरोगी भेटिएका छन् ।

म्याग्दी जिल्लामा गत आवमा ’टिबी प्रिभ्यालेन्स सर्वे’मा म्याग्दी जिल्लाभित्र क्षयरोगीको संख्या २ सय ४९ क्षयरोगी पत्ता लगाउनुपर्नेमा ६३ जना पत्ता लगाइएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन गणेश सुबेदीले बताए । एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताए

जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तीको ब्यवस्थापन गर्न सकिएमा वडास्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्छ ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलकसहित विभिन्न माध्यमबाट बिरामीको पहिचानमा जोड दिए।