बागलुङमा बस दुर्घटना हुँदा ७ को मृत्यु,२५ घाइते,उद्दार जारी

ठाकुरप्रसाद आचार्य
बागलुङ, चैत ५ गते ।

पश्चिम रुकुमबाट काठमाण्डौका लागि यात्रु लिएर छुटेको रात्री बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त बसबाट राती ८ बजे सम्म ३१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये सात जनाको मृत्यु पुष्टी भइसकेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुको सनाखत बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा २५ जना घाइते भएका छन् र घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

दुर्घटनाको खबर लगत्तै नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना र स्थानीयहरु उद्धारमा जुटेका थिए । प्रहरीका अनुसार साँझका समयमा दुर्घटना भएको हुँदा उद्धारमा समस्या भएको छ ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताउनुभयो । घटनामा घाईतको प्रहरी र स्थानीयले साँझ ८ बजेसम्म पनि उद्धार गरिरहेका छन् । मृत्तक र घाईतेहरुको नामावली खुल्न सकेको छैन । साँझको बेला दुर्घटना भएकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।