जलजलामा एमालेका कार्यकर्ता र जनप्रतिनिधि बीच अन्तरक्रिया

विकल्प न्यूज/जलजला
चैत ४ गते ।

नेकपा एमाले जलजला गाउँपालिका कमिटीले पार्टीका कार्यकर्ता र नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि बीच मिलनचोकमा अन्तरक्रिया गरेको छ । पार्टी र जनप्रतिनिधि बीच एकआपसमा छलफल,अन्तरक्रिया गरेर सम्बन्धलाई समधुर बनाउन शनिबार कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सीनाले जनप्रतिनिधिहरुले पार्टीको नीति,विचार र कार्यक्रमहरुलाई प्रभावकारी रुपमा जनताको पक्षमा लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले वडा स्तरका जनप्रतिनिधिहरुले लोककल्याणकारी कार्यक्रमहरु संचालन गरेर जनतालाई सेवा र सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विकासका ठूला योजनाहरु पालिका र वडा स्तरबाट सम्भव छैन उहाँले भन्नुभयो, ‘‘ जनताको स–साना समस्याको सम्बोधन,दैनिक सेवा प्रवाह,जनता प्रत्यक्ष लाभान्वित हुने लोकप्रिय कार्यक्रमहरु वडाले संचालन गर्नुपर्दछ ।’’ विकासका ठूला योजनाहरु प्रदेश र संघ सरकारसँग माग गर्नुपर्ने उहाँको भनाई थियो ।

‘‘महिला शसक्तीकरण,शिक्षा,स्वास्थ्य र दैनिक सेवा प्रवाहमा सहजता प्रदान गरेर जनतामा आशा र भरोसा प्रदान गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिहरुको हो । वडा स्तरमा जनता र जप्रतिनिधिका बीच प्रत्यक्ष सम्बन्ध छ । अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने जग भनेको वडा स्तर हो,त्यसैले वडाका जनप्रतिनिधिहरुले इमान्दार भएर जनताको सेवामा लाग्नुपर्दछ,’’ उहाँले भन्नुभयो ।

पर्वतको विकास र समृद्धिका लागि आफू राष्ट्रियसभाको अध्यक्ष हुँदा धेरै कामहरु गरेको स्मरण गराउँदै उहाँले कालिगण्डकी कोरिडोर योजनालाई पर्वतको मालढुङ्गा देखि जलजला हुँदै बेनी लैजान पहल गरेको,पर्वत बेनी संरक्षण योजना,बगरफाँट जोड्ने बेलिब्रिजको योजना लगायतका विकास निर्माणका कामहरुमा आफूले सक्दो पहल गरेको उहाँको भनाई थियो ।

पूर्व अध्यक्ष तिमिल्सीनाले प्राथमिकता निर्धारण गरेर प्रदेश तथा संघ सरकारसँग योजना र बजेट माग गर्नुपर्ने बताउनुभयो । अन्य पालिकाहरुको तुलनामा जलजलामा कम विकास भएको बताउँदै उहाँले आगमी दिनमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

स्थानीय पार्टी कमिटीले जनप्रतिनिधिहरुलाई निरन्तर रुपमा निर्दैशित गर्ने,योजना बनाउने र जनताको गुनासालाई सम्बोधन गर्न सहजीकरण गर्नुपर्ने दायित्व भएको उहाँको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा निर्वाचित वडाध्यक्ष,सदस्यहरु,पार्टी कमिटीका अध्यक्ष तथा कार्यकर्ताहरुले वडा स्तरमा भएका समस्या र विकास योजनाका वारेमा जानकारी गराएका थिए । उनीहरुले जनताको अपेक्षा धेरै भएको र पालिकाको सीमित स्रोतधानले सम्बोधन गर्न कठिनाई भएकाले योजना र बजेटका लागि प्रदेश र संघ सरकारसँग आवश्यक सहजीकरण गरिदिन पार्टीको नेतृत्व र प्रदेश सांसद सँग अनुरोध गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल प्रदेश सांसदद्धाय भक्त कुँबर,मित्रलाल बस्याल, पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य लालबहादुर अधिकारी लगायतले पार्टी कार्यकर्ता र जनप्रतिनिधिका बीच हुने सम्बन्धका वारेमा विचार व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले जलजलाको विकासका लागि आगमी दिनमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । पार्टीको नीति विचार र कार्यक्रमहरुलाई जनप्रतिनिधिहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेताहरुले निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरु,जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा,सचिव गोविन्द गिरी,उपसचिव शिव पौडेल लगायत जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु,सदस्यहरु,पार्टी कमिटीका पदाधिकारी,सदस्यहरु र कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्ष नेकपा एमाले जलजला गाउँपालिका कमिटीका कार्यवहाक अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता र उपसचिव निलकण्ठ सुवेदीको संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

जनप्रतिनिधि,पार्टीका कार्यकर्ताका बीच भएको खुल्ला छलफल र बहसले एकआपसमा बलियो सम्बन्ध बनाउने विश्वास गरिएको कार्यवाहक अध्यक्ष कार्कीले बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटीले जिल्लाका सबै स्थानीय तहहरुमा पार्टी कार्यकर्ता र जनप्रतिनिधिका बीच अन्तरक्रिया कार्यक्रम संचालन गर्न जनाएको छ ।