नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी
फागुन ३० गते ।

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका  अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

पदाधिकारीका अन्य पदहरुमा भने आवश्यक संख्या भन्दा धेरैको उम्मेदवारी दर्ता भएकाले सर्वसममत रुपमा चयनका लागि छलफल थालिएको छ ।  सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत गरिने नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभयो । पदाधिकारीका अन्य पदहरुमा धेरै साथीहरु आकांक्षी देखिनुभएको छ । छलफल गरेर सर्वसम्मत रुपमा टुंगोमा पुग्छौं ।’’ नयाँ नेतृत्व चयन गर्दै आजै नै अधिबेशन सम्पन्न गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका कटुवाल म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कुशल संगठक कटुवाल एमालेको राजनीतिमा लामो इतिहास भएको नेता हुनुहुन्छ ।

करिब तीन दशक यता पार्टीमा आवद्ध हुँदै आउनुभएका कटुवाल सामाजिक कार्यक्रर्ता समेत हुनुहुन्छ । कोभिड महामारीका समय बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रहेर कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

कटुवाललाई एमाले नेता तथा कार्यक्रर्ताहरुले आगमी स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा समेत हेरेका छन् । अधिबेशनको उद्घाटन राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तथा एमाले नेता गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।