भ्रष्टाचारजन्य गतिविधि त्याग्न तिमिल्सिनाको आग्रह

विकल्प न्यूज/बेनी
फागुन ३० गते ।

 राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका बिरुद्ध हुने भ्रष्टाचार जन्य गतिविधि नगर्न सबै राजनैतिक दलहरु कटिबद्ध हुनु पर्ने बताउनुभएको छ ।

नेकपा एमाले बेनी नगर कमिटीको दोश्रो अधिवेशनमा बोल्दै तिमिल्सिनाले पञ्चायत कालमा जस्तो दलमाथिको प्रतिबन्ध र अप्ठेरो तबरले राजनीति गर्न पर्ने अवस्था नरहेकोले राजनैतिक दलहरुले भ्रष्टाचार नगर्ने र जनपक्षिय काम गर्ने त्याग गर्नु पर्ने अवस्था आएको बताउनु भएको थियो ।

उहाँले भन्नुभयो–‘शुशासनका लागि त्याग गरौं अनि भ्रष्टाचार बिरुद्ध त्याग गरौं समृद्ध नेपाल शुखि नेपाली पक्का छ ।’ राजनीति गरेर के पाउँछौं भन्ने होइन राजनीति गरेका व्यक्तीले निर्वाचित भएको खण्डमा देश र जनताको लागि काम गर्ने मौका पाउने भएकोले त्यसलाई सामान्य ठान्न नहुने उहाँको तर्क थियो ।

राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष भएर राजनैतिक गतिबिधि भन्दा बाहिर गएर छ वर्ष पछि राजनैतिक कार्यक्रममा सहभागीता जनाउनु भएका उहाँले पार्टीको कार्यक्रमको मञ्चबाटै पार्टीको सबै तहलाई धन्यवाद दिनुभएको थियो । गण्डकी प्रदेशमा पहिलो पटक म्याग्दीले जिल्ला अधिवेशन सर्वसम्मत सकेको र पालिका अधिवेशन पनि आज सम्पन्न गर्न लागेको भन्दै पार्टीको गतिविधिमा एमाले म्याग्दी अगाडी देखिएको उहाँको भनाई थियो ।

अहिलेकै निर्वाचन प्रद्धती अनुसार नेपालमा सजिलै कसैको पनि बहुमत आउने नदेखिने तिमिल्सिनाको भनाई थियो । उहाँले भन्नुभयो–‘जनताले अहिलेकै अवस्थामा कसैलाई पनि बहुमत दिने अवस्था छैन त्यसैले जनताको कसिमा सही सावित हुने गरी काम गर्नु पर्ने चुनौती राजनैतिक नेतृत्वमा छ ।’

नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले चुनाव जित्नका लागि जनताको विश्वास जित्नै पर्ने बताउनुभयो । एमाले पार्टी अरु भन्दा फरक पार्टी हो त्यसैले पब्लिक अडिटमा सफल हुन सक्ने व्यक्ती नै चुनावी प्रतिस्पर्धामा उत्रिनु पर्ने उहाँको तर्क थियो । कुनै पनि स्थानमा जिम्मेवारी लिनु पर्ने ठाउँमा अगाडी सर्ने र जिम्मेवारी लिए पछि जिम्मेवारी पुरा नगर्ने प्रबृत्ति हट्नु पर्ने बताउनुभयो । पार्टीको जिम्मेवार पदमा बस्न खोज्ने तर पार्टीलाई आवश्यक परेको समयमा समय नदिनेहरुको संख्या पनि उल्लेख्य भएकोले जिम्मेवारी लिएकाले समय दिनै पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापा, नरदेवी पुन, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, किरण सापकोटा, सृजना केसी, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, मदन भण्डारी फाउण्डेसनका सचिव सन्तोष रावल, एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, पूर्व अध्यक्ष देवेन्द्र केसी, उपसचिव सतप्रसाद रोका, नेकपा एमालेका पूर्व सचिव एवम् बेनी नगरालिकाका प्रमुख सुरत केसी, नेकपा एमाले जिल्ला कमिटीका पूर्व उपसचिव एवम् जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा लगायतले मन्तव्य राख्नुभएको थियो ।

एमाले बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसीको अध्यक्षता पूर्व उपाध्यक्ष लिलाराम गौतमको स्वागत तथा पूर्व सचिव एवम् जिल्ला कमिटी सदस्य शुवास विश्वकर्माको सञ्चालनमा उद्घाटनसत्रको समापन भएको थियो ।