महिला दिवसका अवसरमा जलजलामा लोकगीत र खेलकुद प्रतियोगिता

विकल्प न्यूज\बेनी
फागुन २५ गते ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाइएको छ।
“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस गाउँ पालिकाको केन्द्र लामखेतमा पालिका स्तरीय लोकगीत र अन्धनिसान प्रतियोगीताको आयोजना गरिएको हो । कार्यक्रमको जलजला गाउँ पालिकाका अध्यक्ष राजु आचार्यले उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि आचार्यले पालिकाले तयार पारेको पन्च वर्षीय योजनामा महिला र बालबालिकालाइ केन्द्रमा राखेर योजना बनाइएको र महिला तथा बालबालिकाको अवस्थालाई सुधारगर्न पालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले अव चुलो चौकोका कुरा भन्दा पनि माथि उठेर आर्थिक समृद्धि र स्वावलम्बी बन्नु पर्नेमा जोड दिनुभयो ।

महिला दिवसको अवसरमा पालिकाले आयोजना गरेको लोकगीत प्रतियोगितामा जलजला– ५ लेखफांटको समूह प्रथम भएको छ। त्यसैगरी द्वितीय जलजला–४, भवानीपानी समुह, तृतीय भर्तिमल आमा समूह लामखेत र सान्त्वना जलजला –६ भोटेडाँडाको समूह भएका छन् ।

५ समूह सहभागी भएको प्रतियोगितामा पाँचौ समुहलाई प्रोत्साहन स्वरूप पुरस्कार उपलब्ध गराइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र स्वान्तना हुनेले क्रमश १५ हजार, १२ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगितात्मक घैटो फुटाउने (अन्धनिसान) प्रतियोगितामा सबैभन्दा नजिक निसाना लगाउने जलजला –५ कि प्रभा रेग्मीले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताका बिजेताहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडा नं १ का सदस्य बिमला बरुवाल क्षेत्री, माया भुसाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल महिला संघ जलजलाका सभापति माया कुमारी शर्मा रिजाल, वडा नं ३ का अध्यक्ष एकिन्द्र खत्री, वडा नं ७ का अध्यक्ष टुंगानाथ आचार्य , कार्यपालिका सदस्य भीमसेन बहादुर बराइली, सामाजिक अभियन्ता जमुना आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अप्रतियोगी गीत प्रस्तुत गर्नु भएको थियो प्रतियोगितात्मक कार्यक्रम संगै विभिन्न अप्रतियोगी नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम पुर्व जनप्रतिनिधि, कर्मचारी, आमासमुहको सहभागितामा विभिन्न नारा लेखिएका प्ले कार्ड सहित लामखेत बजार परिक्रमा गरेको थियो । कार्यक्रम जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, कार्यपालिका सदस्य माया भुसालको स्वागत र गाउँपालिका सहायक महिला विकास निरिक्षक बिन्दु शर्माको संचालनमा सम्पन्न भएको थियो ।