महिला दिवस ः कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पीडित

विकल्प न्यूज\बेनी
फागुन २५ गते ।

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ वटा सामाजिक संघसस्थाहरुको सहआयोजनामा शुक्रबार बेनीमा प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

म्याग्दी जिल्लाका महिलाको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा संचालित कार्यक्रमका प्रमुख अतिथि रहनुभएकी सांसद गौचनले समाजमा व्याप्त अन्धविश्वास, कुरीति तथा कुसंस्कारले महिलालाई अन्याय तथा अत्याचार भईरहेकाले हानिकारक परम्परालाई निर्मुल पार्नु आजको आवश्यकता भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले नेपालमा महिलाका सवालमा कानून बनेको भएपनि व्यवहारिक रुपमा कार्यान्वय हुन नसक्दा महिलाहरु अझैपनि पीडित बन्नुपरेको बताउनुभयो । समाज परिवर्तनको अभिन्न अंग महिला भएकाले महिलालाई सम्मान सहितको अवसर प्रदान गर्न तिनै तहका सरकार लाग्नुपर्ने प्रमुख थापाको भनाई थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले अन्तराष्ट्रिय महिला दिवसको सुरुवात र विभिन्न चरणमा भएका महिला आन्दोलनको उपलब्धिहरुको बारेमा बोल्नुभएको थियो । उहाँले महिलामैत्री समुन्नत समाजको निर्माण देश विकासको आधार भएको भन्दै आर्थिक शसक्तिकरणका निम्ती महिलाहरु उद्यममा जोडिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तिन चरणमा प्यानलिष्ट छलफल समेत गरिएको थियो । कार्यक्रममा सहभागि महिलाहरुलाहरुले विभिन्न क्षेत्रगत विषयमा समस्या तथा सवालहरु उठाएका थिए । सहभागिहरुले प्रशासनिक, स्वास्थ्य, कानूनी अधिकार, लैंगिक हिंसा,सामाजिक संस्कार आर्थिक अवस्था लगायतका विषयमा आफ्ना जिज्ञासाहरु राखेका थिए ।

उक्त छलफलमा बेनी नगरपालिका नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरिक्षक मदन कुँवर, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, जिल्ला अदालतका शाखा अधिकृत गंगाधर सापकोटा, बेनी अस्पतालका प्रमुख डा.अन्जु थापा, नेपाल वैंक लिमिटेडका प्रवन्धक मुना ताम्राकार, सामी परियोजनाका परामर्शदाता प्रमिला पौडेल, नविन आनन्द योग केन्द्रका योगगुरु नविन पुनले सहभागिहरुले उठाएका सवालहरुको जवाफ दिनुभएको थियो ।

प्यानलिष्ट छलफलको सहजीकरण मिलन म्याग्दीका अध्यक्ष तथा शिक्षाका लागि राष्ट्रिय अभियानका संयोजक दिलु विटालु, संचारिका समुहका सचिव कल्पना खड्का र द्वन्द्व पीडित अधिकार मञ्चकी सुजाता खत्रीले गर्नुभएको थियो । कार्यक्रम समन्वय उपप्रमुख खत्रीको अध्यक्षता तथा गैर सरकारी संस्था महासंघ म्याग्दीकी सचिव निर्माया मिजारको संचालनमा सम्पन्न भएको थियो ।


कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सवै संघ संस्था तथा अतिथिहरुलाई उपमप्रमुख खत्रीले धन्वावाद प्रकट गर्दै महिलाको सवालमा संवेदनशील भएर सघाउन सवैलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रम सुरुहुनुपूर्व विभिन्न प्लेकार्डहरु सहित बेनी बजारमा प्रभातफेरी समेत गरिएको थियो ।