एमालेका युवा नेता पदम गिरी मन्त्रीमा नियुक्त

विकल्प न्यूज/काठमाण्डौं
फागुन २१ गते ।

नेकपा एमालेका युवा नेता पदम गिरी नेपाल सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित गिरी एमालेको केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाको प्रमुख सचेतक समेत हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका गिरी पर्वत जिल्लाको अध्यक्ष पदको जिम्मेवारी समालेपछि पर्वतमा नेकपा एमाले बलियो शक्तिका रुपमा उदाएको हो ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी बुवा बले गिरी र माता सिताकुमारी गिरीका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३३ साल फागुन २८ गते पर्वतमा भएको हो। २०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट उहाँ संगठित हुनुभएको हो। २०४७ सालमा उहाँ पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित हुनुभएको हो।

२०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा उहाँ स्ववियु सदस्य बन्नुभयो। त्यसपछि उहाँले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। क्याम्पसको राजनीति हुँदै उहाँ नेकपा जिल्ला कमिटी पवर्तनको सदस्य, जिल्ला कमिटी अध्यक्ष बन्नुभयो। २०४७ सालको निर्वाचनमा उहाँ पहिलो पटक संघीय संसदमा निर्वाचित हुनुभयो।

२०७९ सालको निर्वाचनमा उहाँ पवर्त क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो। उहाँसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ। स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ।