सडक योजनामा बजेट रोकिँदा म्याग्दीका जनप्रतिनिधि चुपचाप

ठाकुरप्रसाद आचार्य
म्याग्दी,फागुन १८ गते ।


निर्माण व्यवसायीले म्याग्दीका विकास योजनाहरु समयमै सम्पन्न नगरेर अलपत्र परेका खबरहरु आइरहेका समयमा यहाँको ठेक्का लगाएको एक सडक योजनामा भने संघीय सरकारले बजेट उपलब्ध गराउन नसक्दा योजना अलपत्र पर्ने अवस्था सिर्जना भएको छ ।

काम गर्ने निर्माण व्यवसायीलाई समयमै रकम भुक्तानी गर्न नसक्दा योजना नै अलपत्र पर्ने अवस्थामा पुगेको हो । योजनामा बजेट रोकिँदा जिल्लाका सरोकारवालाहरु भने चुपचाप छन् ।जिल्लाका राजनीतिक दल,संघीय सांसद र प्रदेश सभा सदस्यहरु देखि स्थानीय तहका प्रमुखहरुको उक्त सडक योजनातर्फ ध्यान पुगेको छैन । जिल्लामा विकास योजनाहरु ल्याउन धौडधुप गरेपनि यस अघि संचालनमा रहेका योजनाहरुलाई बजेट व्यवस्थापनमा पहल गरेर समयमै योजना सम्पन्न गर्न उनीहरुले चासो दिएका छैनन् । करिब १० किलोमिटर सडक कालोपत्र हुने उक्त योजनाको प्रगति र समस्याका वारेमा जनप्रतिनिधिहरुले अनुगमन समेत गरेका छैनन् ।

सडक डिभिजन कार्यालय बागलुङ मार्फत निर्माण भइरहेको म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर देखि ज्यामरुककोट हुँदै भकुण्डे–भकिम्ली,बरंजा सडक निर्माण योजनामा बजेटको अभाव भएको हो । योजनामा काम गरेअनुसारको भुक्तानी नपाउँदा निर्माण व्यवसायीले काम छाड्ने तरखर गरेका छन् । रत्नेचौरको कालोपत्र सडकको अन्तिम विन्दु देखि करिब दश किलोमिटर माथि भकुण्डे सम्म सडक स्तरोन्नति सहित कालोपत्र गर्ने योजना संचालित छ ।

‘एक निर्वाचन क्षेत्र,एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले २०७९ भदौं ६ गते २०८१ फागुन ५ गते भित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी गजेन्द्र नयाँ बाटो जेभी स्याङ्जासँग करिब दश किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्र गर्न २६ करोड ४६ लाख ३९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता लगत्तै मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन भएको निर्माण व्यावसायीले सडक निर्माणलाई तिव्रता दिएको थियो । समयभित्र नै योजना सम्पन्न गर्ने उद्देश्यले दैनिक रुपमा एकसय जना मजदुर र उपकरण परिचालन गरेर काम ग¥यौं गजेन्द्र नयाँ बाटो जेभीका साइड इन्जिनियर अरुण सेढाईले भन्नुभयो, ‘‘अघिल्लो आर्थिक वर्ष काम गरेको नै करिब ४ करोड रुपियाँ भुक्तिान पाउनुपर्ने अझै पाएका छैनौं । भुक्तानी नपाए पनि ऋण खोजेर चालु आर्थिक वर्षको अहिलेसम्म सडक निर्माणलाई निरन्तरता दियौं । अब काम गर्न सक्ने स्थितिमा छैनौं ।’’ भुक्तानी नपाएपछि केही दिनभित्रमा मजदुर र उपकरण सहित कार्यस्थलबाट फर्किनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । ‘‘अहिलेको आर्थिक संकटमा पनि आफ्नो पैसा खर्चिएर अहिले सम्म काम ग¥यो अब धान्न सक्ने अवस्थामा छैंनौं, काम छाडेर हिड्नु बाहेक हामीसँग अन्य विकल्प छैन’’ इन्जिनियर सेढाईले भन्नुभयो ।

कार्यालयका अनुसार योजनामा सडक फराकिलो पार्ने,ग्रेड मिलाउने,ग्याबियन झाली लगाउने,पर्खाल लगाउने र नाली निर्माण गर्ने काम सहित अहिले सम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

बजेट अभाव भएपछि अहिले योजनाको काम प्रभावित भएको निर्माण व्यवसायीका प्रतिनिधि भुपेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । निर्माण व्यवसायीका प्रतिनिधि खड्काले भन्नुभयो, ‘‘ पैसा नपाएपनि अहिले सम्म ऋण खोजेर काम ग¥यौं । अब मजदुरको पारिश्रमीक,उपकरणको भाँडा लगायत निर्माण सामग्रीको रकम दिन सक्ने अवस्था छैन ।

अब काम रोक्नु बाहेक हामी सँग विकल्प छैन । एकहप्ता भित्र रकम आउछ भनेर हामी साइडमा बसेका छौं, पैसा नआए हात उठाएर साइडबाट फर्किन्छौं ।’’ अघिल्लो आर्थिक वर्षमा ४ करोड र चालु आर्थिक वर्षको फागुन सम्म काम गरेको थप ३ करोड सहित सात करोड रुपियाँ निर्माण व्यावसायीलाई भ्ुक्तानी दिन बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

योजनाको पहिलो वर्ष निर्माण व्यावसायीले करिब दश करोड रुपियाँ बराबरको काम गरेका थिए । असार मसान्तमा पाँचकरोड रुपियाँ भुक्तानी पाएको सडक डिभिजन कार्यालय बागलुङको भनाई छ । अघिल्लो आर्थिक वर्षको भुक्तानी गर्नुपर्ने दायित्व नै करिब चारकरोड रुपियाँ छ कार्यालयका इन्जिनियर प्रभात तिवारीले भन्नुभयो, ‘‘यति ठूलो योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा जम्मा एककरोड रुपियाँ विनियोजन भएको छ ।’’

रकम भुक्तानी माग्न योजनाको फाइल तयार पारेर अर्थमन्त्रालयमा पठाए पनि बजेट नआइसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘‘निर्माण व्यावसायीले काम गरेको बिल अनुसारको भुक्तानीका लागि फाइल अर्थमन्त्रालयमा पेश गरेका छौं । अघिल्लो आर्थिक वर्षको असारमै बजेट आउँछ भनिएको थियो आएन ।

त्यसपछि पटक पटक आश्वासन दिइएको छ तर बजेट आएको छैन ।’’ स्रोत सुनिश्चित भएर ठेक्का लगाएको योजनामा बजेट जसरी पनि आउँछ काम नरोक्नु भनेर निर्माण व्यावसायीलाई कार्यालयका तर्फबाट अनुरोध गरिएको उहाँले बताउनुभयो ।