म्याग्दीमा साढे ६ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइदै

विकल्प न्यूज\बेनी
फागुन १६ गते ।

म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । फागुन १६–२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको हो । बुधबार जिल्लाभरका खोप केन्द्ररुमा एकसाथ खोप अभियानको सुभारम्भ गरिने छ ।

अभियानका क्रममा नौ महिना देखि पाँच वर्ष भित्रका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन डेढ सय खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

जिल्लाको अति विकट मुदीको बगरमा रहेका बालबालिकालाई सहज हुने गरी नयाँ खोपकेन्द्र स्थापना गरिएको छ । म्याग्दीमा हालसम्म सबै बालबालिका खोपको पहुँचमा रहेकाले यो अभियानमा समेत नछुटने गरी प्रचारप्रसारलाई तिब्रता दिइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले बताउनुभयो ।

#ADV

 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अभियानका लागि आवश्यक पर्ने जनशक्ति सहितको ब्यवस्थापनमा कुनै कमी नहुने बताउनुभयो ।

ADV