जलजलामा फागुन २१ देखि दादुरा–रुबेला खोप अभियान संचालन हुने

विकल्प न्यूज/बेनी
फागुन १५ गते ।

 

पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका नौ महिना देखि ५ वर्ष भित्रका बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

खोप अभियानका बारेमा सरोकारवालाहरुलाई अभिमूखिकरण,प्रचारप्रसार र तयारीका बारेमा जानकारी दिन मंगलबार गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका खोप समन्वय समिति,संचारकर्मी र सरोकारवालाहरुसँग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।


कार्यक्रममा स्वास्थ्य कार्यालयका पर्वतका प्रमुख लम्सालले खोप अभियानलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले जिल्लाभर ८ हजार ६ सय १२ जनालाई दादुरा –रुबेला विरुद्धको खोप दिने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा फागुन १३ गते देखि फलेबास नगरपालिका,महाशिला गाउँपालिका,विहादी र पैयूँ गाउँपालिकामा खोप अभियान संचालन भएको जानकारी दिनुभयो ।

जलजलामा ३६ वटा खोप केन्द्रबाट नौ महिना देखि पाँचवर्ष भित्रका १३२९ बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त एकजना स्वास्थ्यकर्मी र दुईजना महिला स्वयमसेविका परिचालन गरिने उहाँले बताउनुभयो । सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य लिएको बताउँदै दादुरा–रुबेला सङ्क्रमणयुक्त रोग भएकाले लक्षित उमेर समूहका बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्य प्रमुख लम्सालले अुनरोध गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई सक्रिय भएर अभियानमा जुट्न अनुरोध गर्नुभयो । पालिकाका स्वास्थ्य समितिका संयोजक गौबहादुर पुनले अभियानलाई सफल पार्ने मुख्य दायित्व स्वास्थ्यकर्मीका साथै जनप्रतिनिधिहरुको पनि भएकाले आ–आफ्नो वडामा खोप अभियानलाई सफल पार्न सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष दिपक आचार्य,वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु,खोप समन्वय समितिका सदस्यहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  जनस्वास्थ्य निरिक्षक गणेशबहादुर मल्लको संचालन  र स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।