कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल गरेका छौं ः मुख्यमन्त्री पाण्डे

ठाकुरप्रसाद आचार्य
फागुन १३ गते ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रशिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ ।

कालिगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकहरुलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल थालेको उहाँको भनाई थियो ।

बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको पाँचौं दिन आइतबार आयोजना गरिएको प्रादेशिक राजनीतिक र सुशासन विषयक सम्मेलनलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले कालिगण्डकी कोरिडोर हुँदै प्रशिद्ध धािर्मक स्थल मुक्तिनाथ र दमोदर कुण्ड दर्शनका लागि पुगेका पर्यटकहरुलाई कोरला नाका हुँदै कौलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले तिब्बत र चीन सरकार सँग आवश्यक कुराकानी गरिरहेको बताउनुभयो ।

कोराला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिने भएकाले प्रदेश सरकारले यसवारेमा प्राथमिकतामा राखेर पहल गरेको उहाँको भनाई छ । बेलाबखत हुने यस्ता महायज्ञहरुले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छ उहाँले भन्नुभयो, ‘‘अहिले धार्मिक कुराहरु गरेर केही व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने प्रयास गरिरहेका छन् । सबै धार्मिक भावनाहरुलाई सहिष्णुताका साथ जोड्ने,राजनीतिक नेताहरुलाई सतप्रेरणा दिन र अनुशासित समाज निर्माण गर्न महायज्ञले सहयोग पु¥याउने विश्वास छ ।’’

गण्डकीमा सुशासन र भ्रष्टाचारका विषयमा कसैले प्रश्न गर्न नसक्ने गरी काम गरेको उहाँले बताउनुभयो । ‘‘जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिवद्ध छ गण्डकीमा भ्रष्टाचार र अनियमिता भयो भनेर कसैले हामीमाथि औंला ठड्याउन सक्दैनन्, प्रश्न गर्न सक्दैन् । प्रदेश सरकारका कारण नागरिकको शिर झुक्ने अवस्थाको सिर्जना हुनेछैन ।’’ उहाँले भन्नुभयो । प्रदेशमा सुशासनको प्रत्याभूती दिने गरी सरकारले काम गरेको उहाँको भनाई थियो ।
ग्ण्डकी भित्रका सबै धार्मिक पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले विचार व्यक्त गर्नुभयो ।

‘‘गण्डकी सरकारको दोस्रो पञ्चवर्षीय योजना बन्दै छ पर्यटन,जलविद्युत र कृषि क्षेत्रको विकास मार्फत गण्डकीलाई आत्मनिर्भर र सम्मानित प्रदेश बनाउने लक्ष्य लिएका छौं ’’उहाँले भन्नुभयो ।

गाउँबाट सहरमा बसाई सर्ने प्रवृत्तिलाई न्यूनिकरण गर्न ग्रामिण अर्थतन्त्रलाई जोड दिएको उहाँको भनाई थियो । पञ्चकोटलाई धािर्मक पर्यटकीय स्थलका रुपमा विकास गर्न प्रदेश सरकारले हरेक वर्ष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उर्जा,जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी,सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले सुशासनका क्षेत्रमा भएका उपलब्धीहरुका वारेमा विचार व्यक्त गर्नुभएको थियो ।