दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि

काठमाडौँ, फागुन १३ गते । 

 देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताउनुभयो । उहाँले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।

तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले तराई र काठमाडौँ उपत्यकाका जिल्लामा धेरैजसो १५ वर्षमुनिका बालबालिकामा दादुरा देखिएकाले यी जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको बताउनुभयो । २०७९ मङ्सिर ३ देखि २०८० पुस १५ सम्मको तथ्याङ्क अनुसार ती जिल्लाका एक हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ ।

नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो ।

डा. गौतमले ५१ जिल्लामा भने नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने बताउनुभयो । अभियानमा ५० हजार स्वयंसेवक तथा ३० हजार स्वास्थ्यकर्मी परिचालित हुने छन् । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकिएको छ । ती जिल्लामा यस पटक खोप अभियान सञ्चालन गरिने छैन । खोप अभियान बालबालिकाका लागि खोप विकास गरिरहेको संस्था गाभीको सहयोगमा सञ्चालन हुन लागेको हो । gorkhapatra