जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

विकल्प न्युज/बेनी

फागुन १२ गते ।

पर्वतको जलजला गाउँपालिकामा शनिवा देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ ।

प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र जलजला गाउँपालिका लामाखेत पर्वतको संयुक्त आयोजनामा सुरु भएको तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि तालिमलाई सम्बोधन गर्दै उहाँले जलजला गाउँपालिकालाई समृद्ध र उन्नत बनाउन सकिने बताउँदै यसका लागि जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्ने बताउनुभयो ।

जिसस प्रमुख विश्वकर्माले गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरुबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउँदै जनताको सेवालाई पहिलो प्राथमिकता दिएर सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाह चुस्त, दुरुस्त र नागरिकमैत्री हुनुपर्ने बताउनुभयो । पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनुभयो ।

तीन दिनसम्म चल्ने तालिममा सकारात्मक सोच, स्थानीय तहको वित्तीय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, वार्षिक योजना र मध्यकालीन खर्च संरचनाको अन्तरसम्बन्ध, नेतृत्व सिप विकास, जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्ध विकास, योजना अनुगमन तथा मूल्याङ्कनमा जनप्रतिनिधिहरुको भूमिका, राजश्व सुधार योजना, सम्पति कर कार्यान्वयन, स्थानीय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जिम्मेवारी, वैठक व्यवस्थापन र निर्णय प्रक्रिया, संघ–प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, योजनाको अवधारणा तथा स्थानीय तहको योजना तर्जुमा र सिफारिस प्रक्रियाको विषयमा सहजीकरण गरिने आयोजकले जनाएका छन् ।

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापन अधिकृत योगमाया सापकोटा, कम्प्युटर अधिकृत रामहरि खत्री, लेखा अधिकृत चञ्चलाकुमारी अधिकारी र सकारात्मक सोचका प्रशिक्षक विश्वरमणले सहजीकरण गरिरहनुभएको छ । तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित ८५ जनाले सहभागिता जनाएका छन् ।

तालिमको उद्घाटनसत्रमा नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति ईन्दु शर्मा, नेकपा माओवादी केन्द्रका जलजला इन्चार्ज लोकराज आचार्य र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमको उद्घाटनसत्र जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष दीपक आचार्यको स्वागत र सूचना अधिकारी भेषनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।