एमाले बेनी नगरको अधिवेशन फागुन ३० गते

विकल्प न्यूज/बेनी
फागुन १२ गते ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो ।

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित सम्पन्न वैठकले आसन्न अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरु गरेको एमाले बेनी नगरपालिका कमिटीले जनाएको छ । वैठकको निर्णयअनुसार आउँदो २६ गतेसम्म वडा भेला सम्पन्न गरेर नगर अधिवेशनका प्रतिनिधिहरु चयन गरिसक्नुपर्नेछ ।

एमाले बेनी नगर अधिवेशनमा १० वटै वडाबाट छानिएका महिला, दलित, युवा, उत्पीडित र अन्य तथा खुला क्षेत्रबाट गरी कुल १ सय ६६ जना प्रतिनिधिहरुले भाग लिन पाउने भएका छन् । वैठकले अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि नगरको राजनीतिक–साङ्गठनिक र आर्थिक प्रतिवेदन तयारी, पत्राचार एवं प्रचारप्रसार, हल तथा मञ्च व्यवस्थापन, ¥याली व्यवस्थापन र स्वयंसेवक परिचालन, अतिथि सत्कार, खाजा तथा खाना व्यवस्थापनलगायत विभिन्न उपसमितिहरु बनाएर जिम्मेवारी तोकेको छ ।

वैठकको समापन गर्दै एमाले बेनी नगरपालिका कमिटीका अध्यक्ष नारायण जिसीले नगर अधिवेशनलाई भव्य बनाउन पार्टीसम्बद्ध सबै नेता एवं कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले अधिवेशनको उद्घाटनसत्रमा ¥याली तथा जनवादी गीतसङ्गीत र नृत्यहरु प्रस्तुत गरिने बताउँदै नगरको सबै वडाबाट अधिवेशनमा उल्लेख्य सहभागिता गराइने जानकारी समेत दिनुभयो ।

वैठकमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पूर्व सांसद भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, एमाले केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य सन्तोष रावललगायत नेताहरुको विशेष उपस्थिति रहेको थियो ।