जलजलाका ज्येष्ठ नागरिकलाई फागुन १६ गते धार्मिक भ्रमण गराइने

विकल्प न्यूज\बेनी
फागुन ९ गते ।

पर्वतको जलजला गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानका लागि धार्मिक भम्रण गराउने भएको छ । बागलुङ प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा संचालित ब्रहमाण्डीय महायज्ञमा सहभागि गराउन धार्मिक भ्रमण गराउन लागेको हो । फागुनको १६ गते ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराउने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ९ वटै वडाका ७० बर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा धार्मिक भ्रमणको कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । जेष्ठ नागरिकको सम्मान स्वरुप भ्रमण तय गरिएको हो । उक्त धार्मिक भ्रमणमा जान इच्छुक व्यक्तिको स्वास्थ्य अनुकुल र पारिवारिक सहमती हुनुपर्छ । ज्येष्ठ नागरिकको विवरण संकलनका लागि वडा कार्यालयलाई सुचित गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । आचार्यले एक हजार जना जेष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने लक्ष्य राखिएको बताउनुभयो ।

जेष्ठ नागरिकलाई धार्मिक भ्रमण लैजाने प्रस्तावलाई कार्यपालिका सदस्य बैठकले अनुमोदन गरेको छ । कार्यपालिका सदस्यहरुको मंगलवार बसेको १५३ औँ बैठकले अनुमोदन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।