राम मन्दिरलाई नदी कटानबाट जोगाउन पक्की तटबन्ध निर्माण

ठाकुरप्रसाद आचार्य
म्याग्दी(बेनी) फागुन ४ गते ।

कालिगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ । गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित राम मन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले माछापुच्छ«े निर्माण सेवा सँग दुईवर्षमा निर्माण सम्पन्न गर्ने गरी गत वर्षको माघ ९ गते चार करोड ३२ लाख ७९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता लगत्तै निर्माण व्यावसायीले प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणको काम थालेको थियो । आगमी पुस ७ गते सम्म ठेक्काको म्याद भएपनि दश महिना अगावै योजना सम्पन्न हुन लागेको हो । अहिले निर्माणको काम अन्तिमचरणमा पुगेको छ ।

संरक्षण योजनाको काम करिब करिब अन्तिमचरणमा पुगेको छ माछापुच्छ«े निर्माण सेवाको सहायक ठेकेदार रारा कन्ट्रक्सनका प्रतिनिधि बलबहादुर सुनारले भन्नुभयो, ‘‘गत फागुनबाट काम थालेका थियौं । वर्षातको केही महिना काम रोकियो । अन्य समयमा दैनिक रुपमा ३० देखि ४० जना मजदुर र उपकरण परिचालन गरेर निर्माणलाई तिव्रता दिएका छौं । यही फागनुमहिना भित्र सम्पूर्ण काम सक्ने तयारी गरेका छौं ।’’

रुपताल संरक्षण एकिकृत विकास परियोजनाका सब–इन्जिनियर अशोक तिमिल्सिनाका अनुसार योजनामा जमिन मुनी ५० सेन्टिमिटर चौढाई भएको साढे दुईमिटरको कटअफ निर्माण गरी तीन मिटर उचाई भएको चार मिटरको फराकिलो पक्की कम्पोजिटवाल निर्माण गरिएको छ । निर्माण भएको कम्पोजिट वाल माथि आवश्यकता अनुसार तीन देखि चारमिटर उचाई सम्म ग्याबियन झाली भरिएको उहाँले बताउनुभयो ।

नदी कटानको उच्च जोखिममा भएको धार्मिक महत्वको क्षेत्र भएकाले समय भन्दा अगावै काम सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रुपमा अनुगमन र ठेकेदारलाई ताकेता गरिएका कारण सम्पन्न हुने मिति भन्दा अगावै योजनाको काम सम्पन्न हुनलागेको उहाँले बताउनुभयो ।
तीनवर्ष अघि कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राम मन्दिरमा क्षति पु¥याएको थियो । नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको थियो । मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको थियो ।

कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजारको क्षेत्र र वरपरका बस्तीलाई जोगाउन यतिखेर आठ ठूला योजना निर्माणधिन छन् । नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले एकवर्ष अघि देखि करिब ४८ करोड रुपियाँ बराबरका योजनाहरु संचालन गरेको छ । उक्त योजनाहरु चालु आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा पुगेका छन् । gorkhapatraonline