जनयुद्धका कमाण्डर आकाश माओवादी केन्द्रमा फर्किए

विकल्प न्यूज/बेनी
फागुन ३ गते ।

तत्कालिन नेकपा माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर लालु किसान(आकाश) पुन नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाण्डौंमा किसानलाई पार्टीमा स्वागत गर्नुभएको छ । पार्टीका म्याग्दी संयोजक एवम् गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली लगायतका जिल्लाका नेताहरु समेतको उपस्थितिमा किसानलाई प्रचण्डले स्वागत गर्नुभएको छ ।

एकिकृत नेकपा (माओवादी)का तत्कालीन उपाध्यक्ष मोहन वैद्यले पार्टी विभाजन गरेपछि किसान वैद्यको पार्टीमा लाग्नुभएको थियो । पुन वैद्यबाट नेत्र विक्रम चन्द छुट्टीएर गएपछि किसान विप्लव तिर झुकाव राखेपनि राजनीतिमा त्यति क्रियाशिल हुनुभएको थिएन । तत्कालिन समयमा पार्टी विभाजन भएपछि किसानले बेनीबजारमा हार्डवयर पसल सञ्चालन गर्दैै आउनुभएको थियो । हाल उक्त हार्डवयर पसल बन्द भएको छ ।
किसान २०५४/५५ देखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भएर राजनीतिमा होमिनुभएको थियो । माओवादीभित्र इमान्दार,राजनीतिक र वैचारिक रुपमा जुझारु नेताको रुपमा किसानलाई लिने गरिन्छ । २०६२/०६३ को जनआन्दोलन पछि खुला राजनीतिमा आएपछि किसान माओवादी म्याग्दीको जिल्ला सक्रेटरी समेत हुनुभएको थियो ।