गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

विकल्प न्यूज/बागलुङ
बागलुङ,माघ २९ गते ।

बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।

पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको मन्त्रिपरिषद् वैठक बसेको छ । वैठकमा सभागि हुन मुख्यमन्त्री सरेन्द्रराज पाण्डे लगायतका अन्य मन्त्रीहरु सोमबार विहान पञ्चकोटमा आउनुभएको थियो । पञ्चकोटमा आगमी फागुन ९ देखि २३ गते सम्म अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना हुँदै छ । गण्डकी प्रदेश सरकारले महायज्ञको प्रचारप्रसारलाई टेवा पु¥याउन महायज्ञस्थलमै वैठकको आह्वान गरेको हो ।

मन्त्रिपरिषद् वैठकले क्यान्सर र ब्रेन ट्युमरका ७० जना विरामीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका ८ वटा निर्णयहरु गरेको सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।

प्रवक्ता तिवारीले दिएको जानकारी अनुसार वैठकले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने,गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संसोधनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,सपमुरक तथा विशेष अनुदान अन्तर्गत आयोजना÷कार्यक्रम समावेश गर्न नेपाल सरकार मार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ ।

 

यसैगरी गण्डकी प्रदेश आन्तरिक लेखापरिक्षण निर्देशिका २०८० स्विकृत गर्ने,गण्डकी प्रदेश साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जमाको लागि सैद्धान्तिक स्विकृति दिने निर्णय वैठकले गरेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

यस्तै वैठकले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृति दिने र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण,विस्तार,तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० लाई गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृत दिने सम्बन्धी निर्णय भएको उहाँले जानकारी दिनुभयो । वैठकले फागुन ९ गते देखि २३ गते सम्म पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सफल पार्न प्रदेश सरकारले आर्थिक र नैतिक सहयोग गर्ने प्रवक्ता तिवारीले बताउनुभयो ।


पञ्चकोटमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद वैठकले पञ्चकोटवासीहरु उत्साहित भएको वडा नम्बर ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषदको वैठकले हामीलाई उत्साहित बनाएको छ ब्रह्माण्डीय महायज्ञका संकल्प कर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले भन्नुभयो, ‘‘वैठकले महायज्ञको प्रचारप्रसारलाई थप सहयोग मिल्ने आशा गरेका छौं ।’’

पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गरी मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको कमलनयनाचार्यले बताउनुभयो । एकसय ८ कन्याहरुबाट महायज्ञको सामुहिक उद्घाटन गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।