अहिलेको खिचडी सरकारले जनताको समस्या समाधान गर्न सक्दैन ः नेता झलनाथ खनाल

विकल्प न्यूज/बेनी
माघ २६ गते ।

 पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान खिचडी सरकारले मुलुक र जनताको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । मातृशोकमा रहनुभएका नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको परिवारलाई समवेदना प्रकट गर्न शुक्रबार बेनी आउनुभएका सत्तारुढ पार्टीका नेता समेत रहनुभएका खनालले पत्रकार सँगको संक्षिप्त कुरा गर्दै अहिलेको सरकारको विकल्प खोज्न ढिला भइसकेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको सरकार आफैमा एकप्रकारको खिचडी सरकार हो । यो सरकारले जुन रुपमा मुलुक र जनताको समस्या समाधान गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । जनताले यो सरकारको विकल्प खोजेका छन् । अहिलेको विकल्प भनेको काम गर्न सक्ने,नीति,कार्यक्रम र योजना लागू गर्न सक्ने सरकार चाहिन्छ भन्ने छ । सुरुमा यो सरकारबाट हामीले र जनताले पनि अपेक्षा गरेका थियौं तर त्यो अपेक्षा बिचमै तुहियो ।’’ नेता खनलाले विकल्पको आधार तयार नहुँदासम्म वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभयो । ‘‘वर्तमान सरकार परिवर्तन गर्नका लागि विकल्प तयार भइसकेको छैन,’’ उहाँले भन्नुभयो। विकल्पको खोजी र वातावरण तयार पार्न लागेको उहाँको भनाई थियो ।

एमाले सहितको कम्युनिष्ट पार्टीको एकता आवश्यकता रहेको उहाँको भनाइ छ। पार्टीको राष्ट्रिय महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई व्यापक रुपमा अगाडि बढाउने बताउनुभयो। समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभएको छ। मातृशोकमा रहनुभएका जिल्ला अध्यक्ष विश्वकर्माको घरमा पार्टीले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । नेता खनालका साथमा एकिकृत समाजवादी र युवा संघका नेताहरु पनि समवेदना दिन बेनी आउनुभएको थियो ।