ताजा समाचार:
Search

बेनी नगरको रावण पार्क निर्माण योजना एक वर्षदेखि अलपत्र

घनश्याम खड्का/बेनी
माघ २५ गते ।

 बेनी नगरपालिका–५ पुलाह आश्रममा निर्माणाधीन रावण पार्क एक वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले समयमा प्रगति विवरण नबुझाउँदा बजेट निकासा नभएर पार्क निर्माण प्रभावित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अर्न्तगत ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण गर्न ०७७ फागुनमा काठमाडौं कलंकीको धर्म एस कास्यप जेभीसँग १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँमा ठेक्का भएको थियो ।

मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी हुने पार्क निर्माणमा सम्झौता अनुसार बेनी नगरपालिकाका प्राविधिकले गतवर्ष प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क निर्माण अलपत्र परेको हो ।

‘हाम्रो प्राविधिक लापरबाहीले गर्दा मन्त्रालयले गत आवमा भुक्तानी दिएन । त्यसैले रावण पार्क निर्माण स्थगित छ । चालु वर्ष मन्त्रालयबाट बजेट आएकोले काम अगाडी बढाउन निर्माण व्यवसायीलाई ताकेता गरेका छौं,’ बेनी नगरप्रमुख सुरत केसीले भने, ‘मन्त्रालयले सुरु किस्ता १५ लाख पठाएको छ । नगरपालिकाको दायित्वसमेत थप गरी यो आवमा पार्क पूरा गर्ने लक्ष्य राखेका छौं ।’

साझेदारी सर्त अनुसार ०७९ फागुनमा निर्माण सक्नुपर्ने पार्कमा अहिले जमिन सम्याउने र केही घेरबारको कामबाहेक उल्लेख्य केही भएको छैन । पालिकाले रावणको मुर्ति समेत निर्माण सुरु गर्न नगरपालिकाले ठेकदार कम्पनीलाई रनिङ बिल भुक्तानी गरेको छ ।

१४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये ४ रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी ६ मिटर अग्लो रावणको मुर्तिसहित बगैंचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायतका पूर्वाधार निर्माण गर्ने योजना छ ।

पार्क निर्माणले पर्यटन प्रबर्द्धन हुने स्थानीयले आशा गरेका छन् । ‘सांख्य दर्शनका महामुनी कपिलदेखि पुलह ऋषिले ज्ञान प्राप्त गरेको पुलाश्रम पौराणिक तपोभूमि हो,’ बेनी–५ का वडाध्यक्ष रहेका स्थानीय गोविन्द बानियाँले भने, ‘पार्क निर्माण ढिला भए पनि सुरु हुन सकरात्मक हो । यसले धार्मिक पर्यटन प्रबर्द्धन गर्ने छ ।’

निर्माण कम्पनीका इन्जिनियर सन्तोष ओझाका अनुसार रावणमुर्ति बनाउन थालिएको छ । रावण पार्क रहने पुलाह आश्रमबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पुलाह आश्रम सांख्य दर्शनका महामुनि कपिलको पनि तपोभूमि मानिन्छ । कान्तिपुर दैनिकबाट