पर्वत बेनी स्थित कालीगण्डकी नदीको शिला रौतहटको शिव मन्दिरमा लैजाने तयारी

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ २४ गते ।

म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी स्थित कालिगण्डकी नदी किनारबाट शिलालाई रौतहटमा निर्माणधिन शिवमन्दिरमा मुर्ति बनाउने प्रयोजनका लागि लैजान तयारी गरिएको छ ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुरमा रहेको हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मुर्ति बनाउन कालिगण्डकी शिला लैजान लागिएको हो ।
केही दिन अघि मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसे सहितको टोलीले पर्वत बेनीको जुगेधारा स्थित कालिगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो ।


पहिचान गरिएको शिलाको बुधबार विहान पुजाआजा गरिएको छ । उक्त शिला आजनै क्रेनको सहयोगले नदीबाट बाहिर निकाल्न तयारी गरिएको जलजला गाउँपालिका ३ का वडासदस्य ठाकुर रेग्मीले बताउनुभयो ।
शालिग्राम पाईने नदीका रुपमा परिचित कालिगण्डकी नदीको शिला लगेर शिव महादेवको मुख्य मर्ति बनाउन गढीमाई नगरपालिकाले अनुरोध गरी पत्र पठाएकाले शिला पठाउन गाउँपालिकाले शिला लैजान अनुमति दिइएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गढीमाईले यहि माघ २१ शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो ।


शिलाले रौतहट, गलेश्वर,मुक्तिनाथबीच धार्मिक र सांस्कृति सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कालिगण्डकी नदीको शिला रौतहट स्थित निर्माणधिन गरिबनाथ मन्दिरमा लैजानुले कालिगण्डकी नदीको धार्मिक र सांस्कृति महत्वलाई उजागर र प्रचारप्रसार गर्न थप सहयोग मिल्ने छ ।’’ शिला लैजान आउनुभएका गढीमाई नगरपालिका ७ का स्थानीय सुरजभान कुसवाहाले कालिगण्डकी नदीको शिलाबाट गरिबनाथ शिव महादेवको मुर्ति बनाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले गढीमाईको धर्मपुरमा शिव मन्दिर निर्माणधिन अवस्थामा छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रशिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मर्ति बनाउन आवश्यक भएकाले शिला लैजान लागेका हौं । यहाँको शिलाबाट मुर्ति बनेपछि हाम्रो धार्मिक स्थलको ठूलो महत्व बढ्ने विश्वास गरेका छौं ।’’

 

हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसावले महत्पूर्ण हुने धार्मिक व्यक्तिहरुको भनाई छ ।

कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मुर्ति बनाउन राम्रो हुने विश्वास गरिएको छ । एकवर्ष अघि गलेश्वर क्षेत्र स्थित कालिगण्डकी नदीबाट लगिएको दुईवटा शिला भारतको अयोध्यामा निर्माण गरिएको राममन्दिरमा राखिएको छ ।

कालिगण्डकी नदीको शिला लैजाने तयारी गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य