ताजा समाचार:
Search

सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ २२ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ ।

माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने २१ वर्षीय सुशिल गर्बुजाको हत्या भएको थियो । घटनाको भोली पल्टनै प्रहरीले हत्यामा संलग्न भएका चारजना युवालाई नियन्त्रणमा लिएर अनुशन्धान अगाडी बढाएको थियो ।

युवाको हत्या गरेर फरार भएका केही आरोपीहरु सहित सोमबार सम्म एघारजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान थालिएको प्रहरी नायब उपरिक्षक मदन कुँबरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रहरीले घटनामा संलग्न भएका अन्य व्यक्तिहरुको पनि खोजी गरिरहेका छौं । बाहिर जनमानसमा प्रहरीले केही नगरेको जस्तो भ्रम फैलाइए पनि प्रहरीले घटनाको गहिरो तवरले छानविन र अनुशन्धान गरिरहेको छ ।’’

घटनामा संलग्नहरुमध्ये मृतक गर्बुजाका परिवारले दिएको किटानी जायरीमा आरोपी मध्यका बेनी नगरपालिका वडा नं ५ का सफल केसीले आइतबार विहान प्रहरी समक्ष आत्मसर्मपण गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य २ जना १५ र १७ बर्षका छन् । घटनास्थल आसपासका सिसीटिभी फुटेज सहित प्रत्यक्षदर्शी, विगतका दुस्मनीका साथै घटनामा संलग्न अन्य युवाहरूको समेत खोजीकार्य भइरहेको प्रनाउ कुँबरले बताउनुभयो ।

घटनामा मृतकका परिवारले दिएको किटानी जायरीमा उल्लेख गरिएको मुख्य आरोपीहरु सबै प्रहरीको नियन्त्रणमा आइसकेका छन् । आरोपीलाई जिल्ला अदालतबाट म्याद थप गरी कर्तब्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।