ताजा समाचार:
Search

मन्त्री र सांसदको अनुगमनले पनि गति नलिएको मालढुङ्गा–बेनी सडक योजना

ठाकुरप्रसाद आचार्य/बेनी
म्याग्दी,माघ २२ गते ।

 

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा –बेनी सडकलाई स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना तीन वर्ष देखि निर्माणधिन अवस्थामा छ । गत आर्थिक वर्षको असारमा ठेक्का सम्झौताको म्याद सकिएर पुन थपिएको छ । ठेकेदारको ढिलासुस्तीले पुन थपिएको म्यादमा पनि सडक निर्माण हुने छाँटकाट देखिएको छैन । माघको पहिलो हप्ता संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनुगमन गर्नुभएको थियो ।

त्यसो त यो सडक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,पर्वतबाट निर्वाचित संघीय संसाद पदम गिरी,गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली,म्याग्दी र पर्वतबाट निर्वाचित प्रदेशसभाका सदस्यहरुले पनि पटक पटक अनुगमन र निर्दैशन गरे ।

मन्त्री र सांसदको निर्देशनको समेत अवज्ञा गर्दै ठेकेदारले सडक निर्माणलाई अलपत्र पार्दै आएको छ । संघीय मन्त्री ज्वालाले सडक अनुगमनका क्रममा स्थानीय निर्माण समाग्रीको अभाव र ठेकेदारको समस्या समाधानका वारेमा तत्काल बसेर समाधान गर्ने बताउनुभएको थियो । मन्त्री काठमाण्डौं पुगेर यो विषयमा छलफल भयो वा भएन । भएको भए सडक निर्माणले गति लिनुपर्ने ।

ठेकेदारले सरासर काम गरेको भए यतिखेर चिल्लो सडकमा गाडी गुडेका हुन्थे । तर सडक स्तरोन्नति योजना ठेकेदारको लापरबाही र ढिलासुस्तीको सिकार हुँदा सडकमा उडेको धुलोका कारण आसपासका वस्तीहरु धुलाम्मे भएका छन् । दैनिक सयौंको संख्यामा गुड्ने गाडीले उडाएको धुलो वस्ती सम्म नै पुगेर धुलाम्मे बनाउँछ । पानी पर्दा हिलाम्मे भएर पैदलयात्रीलाई समेत सकस हुन्छ । नदीजन्य प्रदार्थ बालुवा,ढुंङ्गा र गिटीको अभाव देखाउँदै ठेकेदारले योजनामा काम गरेको छैन ।

सडकमा गुडेका सवारीसाधनहरुले उडाएको धुलो वस्तीमा पुग्दा सर्वसाधरणहरुको स्वास्थ्यमा असर पुगेको छ । सडक छेवैको खेतवारीमा लगाएको खेती काम नलाग्ने भएको छ । भने ठूला सवारीसाधन गुड्दा उडेको धुलोले मोटरसाइकल लगायत साना सवारीसाधनका चालकले सास्ती भोग्नुपरेको छ । ठूला सवारीसाधन गुड्दा सडकनै छोपिने गरी धुलो उड्छ । सडकमा उडेको धुलो वस्ती र खेतीयोग्य जमिनमा पुगेर प्रदुषित बनाउछ ।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकका कारण सर्वसाधरणहरुको यात्रा कठिन र सास्तीपूर्ण छ । स्तरोन्नतिका लागि भत्काएको सडक समयमा निर्माण नहुँदा आसपासका वस्तीहरुले धुलोका कारण सास्ती भोग्नुपरेको पर्वतको जलजला गाउँपालिका ४ लामाखेतका जिवन मल्लले बताउनुभयो । नाग्लीबाङ,फर्से,लस्ती,मिलनचोक र लामाखेतका स्थानीयहरुले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्दै आएका छन् ।

मल्लले भन्नुभयो, ‘‘सडकबाट उडेको धुलो घर र खेतीपाती सम्मनै आउँछ । धुलोका कारण सास्ती भोगेको वर्षौ भयो । सडक स्तरोन्नति सहित कालोपत्रे योजना अलपत्र पर्दा हामी सडक छेउछाउमा बसोबास गर्ने सर्वसाधारणहरुले निकै ठूलो सास्ती भोग्नुपरेको छ । घर र लगाएको बाली छोप्ने गरी सडकबाट उडेको धुलो आउँछ । धुलोले हाम्रो स्वास्थ्यमा पनि असर पु¥याउने भयो । विद्यालय जाने बालबालिकाहरुलाई पनि धुलो र हिलोले समस्या भएको छ ।’’

योजनाको अहिले सम्म करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ । ठेकेदारले दुइचार जना मात्र कामदार राखेर सुस्त गतिमा काम गरेको देखिन्छ । सडक फराकिलो बनाउन भित्ता कटिङ गरेर छेउमा थुपारेको ढुङ्गा र माटोले सडक साघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

आयोजनाका तर्फबाट पटक पटक सडक निर्माणलाई अगाडी बढाउन ताकेता गर्दा पनि ठेकेदारले कुनै सुनुवाई नगरेको कालीगण्डकी करिडोर आयोजना अन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम सडक योजनाका इन्जिनियर अच्युत विलास पन्तले जानकारी दिनुभयो । निर्माण सामग्रीको अभाव देखाएर ठेकेदारले योजना अलपत्र पारेको छ उहाँले भन्नुभयो, ‘‘हालै मात्र आयोजनाले ठेकेदार सँग छलफल गरेको छ ।

हप्ता दश दिनभित्रमा मजदुर र उपकरण परिचालन गरेर निर्माणलाई गति दिने ठेकेदारले बताएको छ । अब एकमहिना सम्म योजनाको प्रगति नदेखिए ठेक्का तोड्ने गरी छलफल भएको छ ।’’ कालगण्डकी नदीमा नदीजन्य प्रदार्थ उत्खनन् गर्न अदालतले रोक लगाएका कारण सडक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव पनि समस्याका रुपमा देखा परेको उहाँको भनाई छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ ।

कालोपत्रे सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

सडक निर्माणमा भएको ढिलासुस्ती र निर्माण सामग्रीको अभावको विषयमा दुईहप्ता अघि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले स्थलगत रुपमा अनुगमनका एकहप्ता भित्र समस्या समाधान गरेर सडक निर्माणले गति लिने स्थानीयवासीहरुलाई आश्वासन दिनुभएको थियो । तर अझै सडक निर्माणले गति लिन सकेको छैन ।