जनताको प्रश्नले घेरिएको छ कांग्रेस ः नेता पौडेल

ठाकुरप्रसाद आचार्य
माघ २१ गते ।

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडी बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका नेता पौडेलले नेतृत्व युवाको काँधमा ल्याउन प्रयास गरेपनि सफल हुननसकेको विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले निरन्तर रुपमा प्रयास गरेका छौं तर हाम्रो प्रयास सफल हुनसकिरहेको छैन । पार्टी भित्र भएका विकृति र विसङ्गतीहरुलाई न्यूनिकरण गर्दै बलियो पार्टी बनाउने हाम्रो प्रयास जारी छ ।’’ नेपाली कांग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको नागरिक संवाद कार्यक्रमका सहभागिहरुले राखेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिनुहुँदै नेता पौडेलले स्वर्णीम इतिहास लेखिएको कांग्रेस पार्टी आज थुप्रै प्रश्न नै प्रश्नले घेरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज हामी जनताका प्रश्न र गुनासाहरुले घेरिएका छौं । ति प्रश्नहरुको सही जवाफ हामीले दिनसक्नुपर्दछ । सुशासन र आर्थिक विकास जनताले चाहेका छन् । हामीले व्यवस्था परिवर्तन ग¥यो अव जनताको अवस्थामा परिवर्तन तिर केन्द्रित हुनुपर्दछ ।’’ जनताको अवस्थामा परिवर्तन नआएकाले अहिलेको व्यवस्थामाथि जनताले प्रश्न गरेको उहाँको भनाई थियो ।

‘अहिले देशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा अस्तव्यस्तता छ । जसले गर्दा आम नागरिकलाई असुरक्षीत बनाएको छ । पहुँचका भरमा काम गर्ने अवस्था छ,’ नेता पौडेलले थप्नुभयो , ‘ नागरिक जस्तै असन्तुष्ट म पनि छु ,आम नागरिकलाई आशा लाग्दो बनाउनका लागि भ्रष्टाचारका विरुद्धमा खरो रुपमा उत्रिनुपर्दछ ।’ नागरिकलाई सुशासन दिन सकेमा लोकतन्त्र बलियो हुने उहाँले भन्नुभयो ।
जनताकाबीचमा पुगेर जनताका गुनासा र सुझाब लिएर कांग्रेस पार्टीलाई सुधार गर्न समुदायमा कांग्रेस अभियान संचालन गरिएको उहाँले बताउनुभयो । आम नागरिकले नेपाली कांग्रेसका वारेमा के भन्नुहुनछ ? आजको राजनीतिका वारेमा नागरिकका गुनासो र सुझाव के छन् ति सबैलाई संकलन गर्न नागरिक संवाद कार्यक्रम संचालन गरेको नेता पौडेलको भनाई थियो ।
स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, पार्टीका वारेमा जनताबाट सुझाव संकलन गर्न नेपाली कांग्रेस म्याग्दीले नागरिक संवाद कार्यक्रम आयोजना गरेको पार्टीका उपसभापति हरिकुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका १६ जनाले जिल्लामा अलपत्र परेको बेनी अस्पतालको भवन निर्माण,बेनी –मालढुङ्गा सडक, शिक्षा,स्वास्थ्य र कांग्रेस पार्टीलाई सुधार गर्नुपर्ने जस्ता विषयहरुमा प्रश्न र जिज्ञासाहरु राखेका थिए । नागरिक संवादको सहजीकरण नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले गर्नुभएको थियो ।