नेकपाद्धारा बेनीको न्युरोड घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग

विकल्प न्यूज/बेनी
माघ १८ गते ।

एकहप्ता अघि एक युवाको ज्यान जाने गरी बेनीको न्युरोडमा भएको घटनालाई लिएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बेनी नगर कमिटीले दोषीलाई कडा काबाही र पीडित परिवारलाई उचित न्याय दिन माग गरेको छ ।

शुक्रबार सो पार्टीका बेनी नगरपालिका इन्चार्ज गोविन्द सीले एक विज्ञप्ती प्रकाशित गर्दै घटना घटेको एकहप्ता वितिसक्दा पनि हत्यामा संलग्न केही व्यक्तिहरु अझै पक्राउ नपर्नु,वास्तविक दोषीहरु पत्ता नलाग्नु विषय गम्भिर भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘‘वर्तमान दलाल संसदीय व्यवस्थाले आम नागरिकहरुलाई सुरक्षा र न्याय दिन सक्दैन भन्ने तथ्य यो घटनाबाट थप पुष्टि भएको छ ’’ विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै पार्टीले यस घटनाको छिटो भन्दा छिटो सत्य तथ्य पत्ता लगाई सार्वजनिक गरिएन भने संघर्षमा उत्रिने समेत चेतावनी दिएको छ ।

युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा धारिला हतियार प्रहार गरेर रघुगंगा गाउँपालिका वडा नम्बर १ बेग स्थायी ठेगना भई हाल बेनी नगरपालिका ८ वस्ने २१ बर्षीय सुशिल गर्बुजाको मृत्यु भएको थियो । घटनामा संलग्न भएका ४ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुशन्धान थालेको छ ।

यता मृतकका परिवारले घटनामा अन्य व्यक्तिहरुको पनि संलग्न भएको बताउदै आएका छन् । घटनामा संलग्न सवैजनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि यतिखेर म्याग्दीवासीहरुले आवाज उठाएका छन् ।