पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ १८ गते ।


बागलुङको पञ्चकोटलाई प्रमुख धार्मिक गन्तब्य बनाउनका लागि महायज्ञको तयारी गरिएको छ । आगमी फागुन ९ देखि २२ गते सम्म पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी थालिएको हो । बागलुङ नगरपालिका वडा नम्बर ६ मा पर्ने पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आयोजना हुने ब्रह्माण्डीय महायज्ञको तयारीलाई तिव्रता दिइएको छ ।

पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गरी मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पञ्चकोटमा धार्मिक संरचनाहरु निर्माण गरेर विश्वभरका हिन्दुहरुलाई यहाँ आकर्षित गर्ने लक्ष्य छ । बागलुङ भगवति पञ्चकोट,गलेश्वरधाम,मुक्तिनाथ र दामोदरकुण्डलाई धार्मिक सर्किटमा जोडेर वर्षेनी लाखौं धार्मिक पर्यटक ल्याउने हाम्रो योजना छ ।’’

महायज्ञका लागि आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई तिव्रता दिइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यतिखेर पञ्चकोटमा यसअघि निर्माण भएका धार्मिक संरचनाको मर्मत सम्भार,रङरोगन,टेन्ट निर्माण, हबनकुण्ड निर्माण लगायतका महायज्ञका लागि आवश्यक पर्ने संरचनाहरु निर्माणलाई तिव्रता दिइएको छ ।

महायज्ञबाट संकलन भएको रकमबाट पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै पञ्चकोट धाममा निर्माण थालिएका धार्मिक संरचनालाई पुरा गरिने भएको छ । १०८ फिट अग्लो कलश बनाएर पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास गर्ने योजना अघि सारिएको सर्वसिद्धिधाम पञ्चकोट बृहत्तर विकास समितिका उपाध्यक्ष समेत रहनुभएका बागलुङ नगरपालिका ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार पञ्कोटमा ५ हजार ५ सय ५५ केजीको घण्टी राख्ने तयारी गरिएको छ । ‘‘महायज्ञ मार्फत आर्थिक संकलन गरेर पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरी नेपाल र भारतका लाखौं धार्मिक पर्यटक र भक्तजनलाई यहाँ ल्याउने योजना बनाएका छौं,’’ वडाध्यक्ष केसीले भन्नुभयो, ‘‘प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा पञ्चकोटलाई विकास गर्ने हाम्रो लक्ष्य छ ।’’ यहाँ बन्ने कलश झण्डै १३ तलाको घर बराबरको हुने गरी डीपीआर समेत बनाइसकिएको छ । बाहिरी स्वरुप कलश जस्तै भएपनि भित्री खण्डमा १६ वटा कोठा बन्नेछन् । ती कोठामा धार्मिक क्रियाकलाप संचालन हुनेछन् ।

पूर्वाधार निर्माणमा करिब चार अर्ब बराबर लगानीको अनुमान गरिएको छ । महायज्ञ र नेपाल सरकारबाट प्राप्त हुने रकमलाई पञ्चकोट निर्माणमा खर्च गरिने भएको छ । अहिले पञ्चकोटमा ठुला संरचना निर्माणको चरणमा छन् भने गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति ‘सिस महल’,हनुमान बाटिका,गण्डकी गोपाल गौशाला र ससाना मन्दिर निर्माण भइसकेका पञ्चकोट निर्माण समितिका संयोजक कर्णबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई सय रोपनी बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमलनयनाचार्य संस्थापक रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत आर्थिक सहयोग संकलन गरी निर्माणको पूर्वाधार निर्माणको कामलाई अगाडि बढाइएको छ ।