एमाले म्याग्दीको अधिवेशन ः अध्यक्षमा सुवेदी निर्विरोध चयन अन्य पदाधिकारीमा सहमतिको प्रयास

विकल्प न्यूज/बेनी
माघ १४ गते ।

बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । आइतबार एक बजेसम्म उम्मेदवारी दर्ताको समय दिएकोमा अध्यक्ष पदका लागि सुवेदी बाहेक अन्य कसैको पनि उम्मेदवारी दर्ता भएन । अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध चयन हुनुभएको हो ।

ADV

यसैगरी उपाध्यक्ष,सचिव र उपसचिव पदमा भने आवश्यकता भन्दा धेरै उम्मेदवारी दर्ता भएको छ । उपाध्क्षमा प्रमोद श्रेष्ठ र हालका पार्टी सचिव तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सचिव पदमा थमसरा पुन र दिपक कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुन हालको जिल्ला कमिटीको उपसचिव र कार्की रघुगंगा गाउँपालिका कमिटीको अध्यक्ष हुनुहुन्छ ।


यसैगरी दुईजना उपसचिवको पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसचिवमा रामप्रसाद सुवेदी,खड्ग गिरी,बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधिकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागी छन् । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि नेताहरु आपसी छलफलमा जुटेका छन् । सकभर सहमतिबाटनै नेतृत्व चयन गरिने जिल्ला कमिटीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले बताउनुभयो ।