विकल्प न्यूज\बेनी
माघ १३ गते ।
म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडको गल्ली अन्धकारमय भएको छ । नगरपालिकाले जडान गरेका सडक बत्ती विग्रीएपछि हुलाक चोक देखि क्याम्पसचोक सम्मको सडक अन्धकारमय बनेको हो । सडक अन्धकारमय बनेपछि सर्वसाधरणहरुले असुरक्षित महशुस गरेका छन् ।
हालै मात्र समसाँझैमा खुकुरी प्रहार गरेर एक युवाको हत्य भएको क्षेत्र पनि न्यूरोड नै हो । रातको समयमा सडक बत्ती समेत नबल्दा असुरक्षा भएको न्यूरोडका एक होटल व्यावसायीले बताउनुभयो । न्यूरोडको गल्लीमा वैक तथा विभिन्न संघ संस्थाहरुले राखेको कार्यालय बोर्डको उज्यालो मात्र देखिन्छ । विजुलीका पोलहरुमा राखिएका सडकबत्ती कुनै पनि बल्दैनन् ।
होटल व्यावसायीले भन्नुभयो, ‘‘आजकल न्यूरोड क्षेत्र असुरक्षित बनेको छ । सडक बत्ती समेत बल्दैनन् । विजुलीका पोलहरुमा राखिएका सडक बत्ती बल्न छाडेको धेरै समय भयो नगरपालिकाले मर्मत सम्भार गरेर सडक बत्ती बाल्न तर्फ ध्यान दिँदैन । साँझमा नै सडकमा हिड्न पनि खतरा भएको छ ।’’
दुईदिन अघि एक युवाको ज्यान जाने गरी घटेको घटनाबाट न्यूरोडवासी यतिखेर त्रसित छन् । नगरपालिकाले न्यूरोड क्षेत्रका सडक बत्तीहरु चाँढो मर्मत सम्मभार गरेर उज्यालो न्यूरोड बनाउनुपर्ने स्थानीयहरु बताउँछन् ।
न्यूरोडका एक स्थानीयले नाम नछाप्ने सर्तमा भन्नुभयो, ‘‘नगरपालिकाका जनप्रतिनिधिहरुले ठूला ठूला भाषणहरु गर्दै हिड्नुहुन्छ । कतै पार्क बनाउने,कतै नदीमा ड्याम बनाउने तर आफूहरु हिड्ने न्यूरोड क्षेत्रलाई उज्यालो बनाएर सुरक्षित बनाउन तर्फ ध्यान दिनुहुन्न ।’’ ‘बेनी नगरका जनप्रतिनिधहरु भाषण गर्नुहुन्छ काम कम गर्नुहुन्छ ।’ एक न्यूरोडवासीले भन्नुभयो ।