विकल्प न्यूज/बेनी
माघ १३ गते ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । शनिबार विहान प्रेसचौतारी नेपाल जिल्ला शाखा म्याग्दीद्धारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकमा देखा परेका समस्या समाधान गर्न,विकास निर्माणलाई अगाडी बढाउन र सुशासन कायम गर्न वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल सावित भएको दावी गर्नुभयो ।
यसैगरी शुक्रकार नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई उद्घाटन गर्नुहुँदै मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रहितका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको उहाँले बताउनुभएको छ ।
महासचिव पोखरेलले देश विकास र संविधानको रक्षाका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउँदै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका लागि वर्तमान गठबन्धन सरकार अभिशाप बनेको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्व मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रहितका लागि अपरिहार्य रहेको विषयलाई नेपाली जनताको बीचमा लगेर देशलाई सङ्कटबाट जोगाउन सकिने बताउनुभयो ।
सुन तस्करहरुसँग वर्तमान गठबन्धन सरकारको उठबसको कारणले गर्दा देशमा आर्थिक सङ्कट गहिरिँदै गएको आरोप लगाउँदै महासचिव पोखरेलले देशमा लगानीको वातावरण नबन्दा विदेश पलायनको दर उच्च रहेको बताउनुभयो । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेको राष्ट्रिय गौरवका विकास निर्माणका आयोजनाहरुमा वर्तमान गठबन्धन सरकारले बजेट कटौती गरेर निर्माणाधीन विकासे आयोजनाहरुलाई बीचैमा प्रभावित बनाएको बताउनुभयो ।
महासचिव पोखरेलले वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितमा छैन, अहिलेको सरकारकै कारण देश सङ्कटमा फस्दै गएको छ ।’ वर्तमान सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के गुमाउनुपर्ने हो भन्ने चिन्ता हुने गरेको उहाँले बताउनुभयो ।
एमालेले नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामनासहित देशको स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो रुपमा उत्रिएको स्मरण गर्दै गठबन्धन सरकारले विदेशीसामु नेपालीको शिर झुकाउने काम मात्रै गरेको बताउनुभयो ।
तत्कालीन एमाले नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सन्धी–सम्झौता गरेर भारतसँग वर्षौंदेखि नसुल्झिएका समस्या सुल्झाउने विषयमा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको महासचिव पोखरेलको भनाइ छ । ‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो । एमाले सत्ता बाहिर भए पनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ’ उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले मुलुक बनाउने एजेण्डा बोकेको पार्टी सत्ता बाहिर हुँदा अहिले जनताले दुःख पाएको बताउँदै वर्तमान सरकार भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक बनेको आरोप पनि लगाउनुभयो । देश बर्बाद हुनबाट जोगाउन गठबन्धन सरकारलाई जनताले विस्थापित गर्नुपर्ने उहाँले बताउनुभयो ।
अधिवेशन उद्घाटनसत्रमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट र पद्यमा अर्यालले सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धनकै कारणले देशमा आर्थिक सङ्कट चुलिँदै गैरहेको आरोप लगाउनुभयो । उहाँहरुले सरकारले गलत गर्दै जाने तर प्रतिपक्षमा हुँदा पनि अन्य दल र मिडियाले एमालेमाथि निरन्तर प्रहार गर्ने काम भैरहेको बताउनुभएको थियो । वर्तमान सरकार हरेक मामिलामा असक्षम र असफल सवित भैरहेको एमाले नेताहरुको भनाइ छ ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी, थममाया थापा, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपाली र बागलुङ अध्यक्ष हिरा केसीले शुभकामना मन्व्य व्यक्त गनुृभएको थियो । अधिवेशनको अवसर पारेर गएको असोज तेस्रो साता रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट क्षति भएका संरचनाको निर्माणमा म्याग्दीबाट खटिएका उदय दर्जी, खुम किसान, कुशल किसान र कृष्ण सेन्च्युरीलाई सम्मान गरिएको थियो ।
अधिवेशनको उद्घाटनसत्र एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । शनिवारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ भने जिल्लाभरबाट एमालेका ४ सय १९ जना प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाएका छन् ।