विकल्प न्यूज/बेनी
माघ ११ गते ।
अधिवेशनले जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभएको छ । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन र बन्द सत्र हुने नेकपा एमालेले जनाएको छ ।
अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिनेछन् । समावेशीमा छुटेकाहरुलाई जिल्ल कमिटीले १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ । अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट प्रतिनिधि छनौट यस अघि नै सकिएको अध्यक्ष कटुवालले बताउनुभयो ।
दशौं अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ । अधिबेशन सफल बनाउनका लागि विभिन्न ७ वटा उपसमिति गठन गरेर तयारी गरिएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले सबैको ध्यान अवको नेतृत्वतीर केन्द्रित रहेको छ । जिल्ला अध्यक्षमा हालका उपाध्यक्ष बालकृष्ण सुवेदी लगभग पक्का जस्तै देखिएको छ । स्थानीय तहको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले पार्टीको कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुननपाउने भएपछि उपाध्यक्ष र उपसचिव पदमा धेरै नेताहरु आकांक्षी हुनुहुन्छ ।
उपाध्यक्षमा हालका हालका पार्टी सचिव तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी र सचिवालय सदस्य प्रमोद श्रेष्ठको बलियो दावी रहेको छ । उपसचिव पदमा कार्यरत महिला नेतृ थमसरा पुनको सचिव पदमा दावी रहेको छ । एमालेले पदाधिकारीमा एकजना महिला अनिवार्य बनाएकाले पुनको सचिव पक्का जस्तै देखिन्छ ।
यस्तै दुईजना निर्वाचित हुने उपसचिव पदमा धेरै नेताहरुले इच्छा देखाउनुभएको अध्यक्ष कटुवालले बताउनुभयो । उपसचिव पदमा गाउँपालिकाका अध्यक्ष तथा केही वडाध्यक्षहरुले पनि दावी गर्नुभएको एमाले स्रोतले बतायो । एमाले स्रोतका अनुसार मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको उपसचिव पदमा दावी रहेको छ ।
यसैगरी उपसचिवमा अन्नपूर्णका खड्क गिरी,बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसी, रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष दिपक कार्की लगायतको शसक्त दावी रहेको छ ।
अध्यक्ष र सचिव पदमा सर्वसम्मत भएपनि उपाध्यक्ष र उपसचिव पदमा भने नेताहरुलाई मिलाउन कठिन देखिने एमाले स्रोतले बतायो । सकभर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने र सर्वसम्मत नभए लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन गर्नेगरी तयारी भएको एमालेले जनाएको छ ।