बेनी नगरका ग्रामिण क्षेत्रमा किन धमाधम खाली हुँदैछन् सामुदायिक विद्यालय ?

ठाकुरप्रसाद आचार्य/बेनी
माघ ९ गते ।


बेनी नगरका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयहरु धमाधम खाली हुँदैछन् । स्थानीय राजनीतिक दलहरुको शिक्षा सम्बन्धि नीति प्रष्ट नहुनु, राजनीतिक दलका नेता,जनप्रतिनिधि र शिक्षकको निजी विद्यालयमा लगानी बढ्दै जानु सामुदायिक विद्यालय खाली हुँदै जाने प्रमुख कारण बनेको हो । समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल र लगनशिल नदेखिनुले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयहरुप्रति अविश्वास बढ्दै गएको हो ।

चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामिण क्षेत्रमा संचालित सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) ग¥यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा शुन्य विद्यार्थी थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी चाप भएपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी संख्या निरन्तर घट्दो छ । सदरमुकाम आसपासका सामुदायिक विद्यालयहरुमा निरन्तर रुपमा विद्यार्थी संख्या घट्दो छ ।

गाउँदेखि बजार झर्ने दरमा वृद्धि,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदो र बजारका निजी विद्यालयहरुले विद्यार्थी लिन अभिभावकको घरदैलोमा गाडी पु¥याउन थालेपछि सदरमुकाम आसपासका सामुदायिक विद्यालयका कक्षाहरु रित्तिँन थालेका हुन । यहि अवस्था कायम रहे अवको दुईचार वर्षभित्रमा ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुग्ने डरलाग्दो चित्र सामुन्ने छ ।

बेनी नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार वडा नम्बर ५ गाजने स्थित जगन्नाथ आधाभूत विद्यालयमा जम्मा दुईजना मात्र विद्यार्थी भएपछि कक्षा तीनसम्म संचालन भएको सो विद्यालयलाई हाल बालविकास केन्द्रमा झारिएको छ । अहिले यस विद्यालयमा एकजना बालविकास सहजकर्ताले दुईजना विद्यार्थीलाई पढाउँदै आउनुभएको नगरका शिक्षा अधिकृत कमलप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर १ को युबावर्ष आधारभूत विद्यालयको कक्षा ५ मा एकजना मात्र विद्यार्थी भएपछि तह घटाएर ४ कक्षा सम्म संचालन गरिएको छ । एक देखि कक्ष ८ सम्म संचालन भएको वडा नम्बर २ को हंशबाहिनी आधारभूत विद्यालयको कक्षा ७ र ८ मा शुन्य विद्यार्थी भएपछि कक्षा घटुवा गरिएको छ ।

यस्तै बेनी नगरपालिका २ को नवदुर्गा आधारभूत विद्यालयको कक्षा ५ मा एकजना मात्र विद्यार्थी भएपछि पाँचकक्षा बन्द गरिएको छ । कक्षा ३ सम्म पठनपाठन हुने वडा नम्बर ३को भुमे आधारभूत विद्यालयको कक्षा २ र ३ मा शुन्य विद्यार्थी भएपछि हाललाई कक्षा १ मात्र संचालन गरिएको छ ।

वडा नम्बर ५ को गणेश आधारभूत विद्यालयको कक्षा ४ मा शुन्य र पाँच कक्षामा एकजना मात्र विद्यार्थी भएपछि तह घटाएर तीन कक्षासम्म मात्र संचालन गरिएको छ । वडा नम्बर ६ को बागेश्वरी विद्यालयको कक्षा ४ र पाँचमा विद्यार्थी नभएपछि अहिले ३ कक्षा सम्म मात्र संचालन गरिएको छ ।

कक्षा पाँच सम्म पठनपाठन हुँदै आएको वडा नम्बर ९ को सल्लेरी आधारभूत विद्यालयको कक्षा ४ र ५ बन्द गरेर तीन कक्षा सम्म पठनपाठन हुँदै आएको छ । यसै वडाको अर्को भवानी आधारभूत विद्यालयमा पनि कक्षा दुई र तीनलाई बन्द गरेर एक कक्षा सम्म मात्र संचालन गरिएको छ ।

विद्यार्थी संख्या हेरेर विद्यालयहरुको कक्षा घटुवा गरिएको बेनी नगरपालिकाका शिक्षा अधिकृत ढकालले बताउनुभयो । स्थलगत रुपमा विद्यालयको अनुगमन गरी विद्यार्थी नभएका र न्यून विद्यार्थी भएका विद्यालयका कक्षालाई बन्द गरिएको उहाँले बताउनुभयो । निरन्तर विद्यार्थी संख्या घटेका कारण ग्रामिण क्षेत्रमा संचालित सामुदायिक विद्यालयहरुलाई टिकाउन निकै चुनौती भएको उहाँको भनाई छ ।

‘अहिलेकै अनुपातमा कक्षाहरु खाली हुँदै जाने हो भने भोलीका दिनहरुमा ग्रामिण क्षेत्रमा रहेका प्रयाःजसो सामुदायिक विद्यालयहरु बन्द हुने अवस्था सिर्जना हुनसक्छ । जनप्रतिनिधि,सरोकारवाला र अभिभावकहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सोच्नुपर्ने बेला आएको छ ’ उहाँले भन्नुभयो ।

फिल्डमा पुगेर विद्यालयको अवस्थाको अध्ययन गरी शिक्षा समितिको सिफारिसमा नगर कार्यपालिकाले विद्यार्थी संख्या नभएका विद्यालयहरुको कक्षा घटुवा गर्ने निर्णय शिक्षा अधिकृत ढकालले बताउुनभयो । समुदायको माग अनुसार तत्काललाई ती विद्यालयलाई अर्को विद्यालयमा समायोजन नगरी कक्षा घटुवा मात्र गरिएको उहाँको भनाई छ ।

बसाईसराई तीव्र र बजारमा संचालित निजी विद्यालयका गाडीहरु विद्यार्थी लिन ग्रामिण भेगसम्म पुग्ने गरेका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुँदै जान थालेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अभिभावकको निजी विद्यालय तर्फ आकर्षण,सामुदायिक विद्यालयले अभिभावकहरुको विश्वास जगाउन नसक्नु, निजी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नु र निजी विद्यालयले गाडी लिएर ग्रामिण भेगसम्मनै विद्यार्थी लिन पुग्ने अवस्थाले सामुदायिक विद्यालयका कक्षाहरु रित्तिन थालेका छन् ।’’  गाउँगाउँमा आवश्यकता भन्दा बढी विद्यालय खोल्ने लहर चल्नु र शैक्षिक गुणस्तर वृद्धिमा ध्यान नपु¥याउनु पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुनुको कारण भएको उहाँको भनाई छ ।

सडक सुविधाको पहुँच बढेका कारण निजी विद्यालयहरु गाडी लिएर गाउँगाउँमा विद्यार्थी लिन पगेका कारण सदरमुकाम आसपासका सामुदायिक विद्यालयहरुलाई विद्यार्थी जोगाउन कठिन भएको उहाँले बताउनुभयो ।

नगरपालिकाका जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, विद्यालयमा शैक्षिक पूर्वाधार विकास र अंग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिनसके सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन सकिने उहाँको भनाई छ ।