विकल्प न्यूज\बेनी
पुस २६ गते ।
कर्मचारी मिलन केन्द्र म्याग्दीको भवन प्रयोग विहिन भएको छ । संघीयता कार्यान्वयन सँगै बेनी बजारको विरेन्द्रचोकमा रहेको कर्मचारी मिलनकेन्द्रको भवन प्रयोग विहिन भएको हो । एउटा सभाहल सहितको एकतल्ले भवन मर्मत सम्भार नहुँदा भत्किने अवस्थामा पुगेको छ ।
कुनै समय दैनिक रुपमा सानातिना कार्यक्रमहरु यहि भवनमा हुन्थे । विहान बेलुका कर्मचारीको चिया गफ,जमघट,जिल्लामा आउने नयाँ कर्मचारीको स्वागत र विदाई मिलन केन्द्रको भवनमा आयोजना गरिन्थ्यो । तर पछिल्ला पाँचवर्ष यो भवनमा कुनै पनि कार्यक्रमहरु गरिएका छैनन् ।
भवनको मर्मत सम्भारमा सरोकारवालाहरुले चासो नदिँदा थोत्रो र जिर्ण बनेको छ । भवन परिसर झारजंगलले भरिएको छ । भवन मर्मतसम्भारको पर्खाइमा छ ।
भवनको मर्मत सम्भार गर्न आर्थिक स्रोत अभाव भएको कर्मचारी मिलनकेन्द्रका अध्यक्ष तथा डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भवनको मर्मत सम्भार गर्न केन्द्र सँग पैसा छैन । स्रोतको व्यवस्थापन गर्न सकिएको छैन । कहिकतै स्रोतको व्यवस्थापन गरेर मर्मत सम्भार गर्ने सोच बनाएका छौं ।’’
जिल्लामा सरुवा भएर आउने कर्मचारी र जाने कर्मचारीलाई स्वागत,विदाई,भेटघाट र वैठक आजकल जिल्ला प्रशासन कार्यालयमा हुने भएकाले पनि उक्त भवन प्रयोग विहिन भएको उहाँको भनाई छ । ‘केही वर्ष पहिला बजारमा साना तिना कार्यक्रम गर्नका लागि सभाहलको समस्या थियो सबैले यहि भवनमा कार्यक्रम गर्दथे,’ अध्यक्ष रानाभाटले भन्नुभयो, ‘अहिले सरकारी कार्यालयहरु,होटल विभिन्न संघसंस्थाहरुले कार्यक्रम प्रयोजनका लागि सभाहल बनाउन थाले । त्यसकारण पनि यो भवनको प्रयोग हुन छाड्यो ।’ भवन प्रयोग हुनछाडेपछि यसको मर्मतसम्भारतिर कसैको ध्यान नपुगेको उहाँको भनाई छ ।
कर्मचारी मिलन केन्द्र मार्फत अहिले पनि जिल्लामा स्मारिका प्रकाशन,निजामति सेवा दिवसमा विभिन्न कार्यक्रमहरु, कर्मचारीहरु मिलन, पुर्नमिलन तथा स्वागत र विदाई जस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको उहाँको भनाई छ ।