बेनीका प्रतिष्ठीत व्यक्तिले नै बिजुली चोरी गर्दछन्

विकल्प न्यूज \बेनी
पुस २६ गते ।


नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने दुईसय १२ ग्राहकको लाइन काटेको छ ।
बर्षौ सम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर पुनः जडान शुल्क सहित २४ लाख ८० हजार दुइसय १६ रुपियाँ वाँकी बक्यौता असुल गरिएको कार्यालयले जनाएको छ । लाइन काटिनेहरुमा २४ महिना देखि दश वर्ष सम्म महसुल नबुझाउने ग्राहकहरु छन् ।
प्राधिकरणको बक्यौता असुली अभियान अन्तर्गत असोज महिनायता सो संख्यामा ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख प्रताप बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लामो समय बिद्युत महसुल नबुझाउने,बुझाउन अटेर गर्ने ग्राहकहरुको लाइन काट्ने अभियान कडाईका साथ अगाडी बढाएका छौं ।’’

उहाँका अनुसार कार्यालयको सेवा क्षेत्र भित्र अझै पनि दुईवर्ष देखि नौ \दश वर्ष सम्म पनि विद्युत महसुल नबुझाउने चारसय ३९ ग्राहकबाट २४ लाख ४८ हजार चारसय ८० रुपियाँ बक्यौता उठाउन बाँकी छ । कार्यालयले बाँकी बक्यौता रकम उठाउने अभियानलाई कडाईका साथ अगाडी बढाएको केन्द्र प्रमुख बरालले बताउनुभयो ।

कार्यालय अनुसार बजार क्षेत्रमै बिजुली चोरी गरेको पनि फेला परेका छन् । मिटर बाइपास गरेर बिजुली चोरेको भेटियो केन्द्र प्रमुख बरालले भन्नुभयो, ‘‘बजारका प्रतिष्ठित व्यक्तिहरुको घरमा पनि बिजुली चोरी गरेको फेला पा¥यौं । उक्त व्यक्तिबाट यस्तो क्रियाकलाप भएको होला भन्ने हामीले सोचेका पनि थिएनौं । नियम अनुसार जरिबाना असुल ग¥यौं । चोरी गर्ने व्यक्तिले गल्ति महशुस गर्नुभयो ।’’ बेनी बजारमै बिजुली चोरी फेला पर्नु अचम्मको विषय भएको उहाँले बताउनुभयो । बिद्युत चोरी गर्ने त्यस्ता ग्राहकको नाम भने कार्यालयले उपलब्ध गराउन चाहेन ।
बिजुली चोरी गरेका ६ जना ग्राहकबाट ४ लाख ५ हजार ९ सय ७३ रुपियाँ जरिवाना शुल्क संकलन भएको लेखा शाखा प्रमुख श्याम रानाले जानकारी दिनुभयो । बसाईसराई,विदेश पलायन र प्राकृतिक विपत्तीका कारण कतिपय घरहरु खाली भएका कारण बक्यौत रकम उठाउन चुनौती भएको लेखा शाखा प्रमुख रानाले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक छन् ।