बेनीमा माघेसङ्क्रान्ति मेलाको आयोजना गरिने

ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस १९ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा माघेसङक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुको सक्रियतामा परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो ।

आगामी पुस २९ देखि माघ २ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले बिहिबार विहान पत्रकार भेटघाट मार्फत जानकारी गराएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलामा स्थानीय उत्पादनको प्रदर्शन र कला संस्कृति संरक्षण पहिलो प्राथमिकतामा राखिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन,विभिन्न खेलकुद प्रतियोगिताहरु, आमा नृत्य प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मेलामा प्रस्तुती रहने महिला उद्यम विकास समितिले जनाएको छ । मेलामा खुल्ला अन्धनिसान, महिला/पुरुष छेलो फ्याँक्ने, महिला÷पुरुष लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाहरुको नेतृत्वमा संचालित मेलाले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो ।