रघुगंगामा करिब रु ५करोड थप बजेट विनियोजन

विकल्प न्यूज/बेनी
पुस १८ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकता दिएर बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाभित्र अधुरा रहेका योजना, सडक मर्मत, विद्यालय पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । गत असारमा सम्पन्न १५ औँ गाउँसभाले रघुगंगामा चालु आर्थिक बर्ष २०८०÷०८१ का लागी रु ४३ करोड ५७ लाख ८७ हजार छ सय बराबरको बजेट स्विकृत गरेको थियो ।

गाउँसभाबाट गाउँपालिकाको आर्थिक ऐन समेत संसोधन गरिएको छ । सभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म कुल बजेटको १९ प्रतिशत बजेट खर्च गरेको छ । पुजिगततर्फ ३ प्रतिशत र चालुतर्फ २३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वनय हुने योजनाहरुको लगत स्टिमेट तयार गरि धमाधम सम्झौताको चरणमा रहेको जनाएको छ । सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले थप भएका योजनाहरुको प्रभाबकारी कार्यान्वयनको लागि लागत स्टिमेट तयार गरि कार्यान्वयनमा लैजानेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष अमृत भण्डारी, ३ का अध्यक्ष खिमबहादुर शाही, ४ का अध्यक्ष पबिन गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का अध्यक्ष थकबहादुर पाईजा, ८ का अध्यक्ष गमान छन्त्याल र कार्यपालिका सदस्य होमबहादुर दर्जीले पालिकाको आन्तरिक आम्दानीको स्रोत बढाएर विकासलाई गति दिन सबै सरोकारवालाहरुको रचनात्मक साथ, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाले एसइइ परिक्षा २०७९ मा औषत जिपिएका आधारमा २.७७ जिपिए सहित गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याएकोमा ज्ञानोदय माविलाई सम्मान गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष पुन र प्रमुख प्रशासकीय अधिकृत ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई प्रसंसापत्रद्धारा सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा हालै गाउँपालिकाको चौथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको मैत्रीपूर्ण भलिबल खेलमा बिजेता बनेको जनप्रतिनिधिको समूहले बिजेता बापतको नगद पुरस्कार रु ७ हजार ५ सय रकम ज्ञानोदय माविको दृष्टिविहिन स्रोत कक्षाको लागि सहयोग गरिएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष पुनको स्वागत र लेखाअधिकृत सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।