काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री जुग्जाली

 १५ पुष ः

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडी परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताउनुभयो ।

“संघीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवा पुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुवा–आमा, हजुरबुवा–हजुरआमाहरुलाई सोध्नुहुन अनुरोध छ,” उहाँले भन्नुभयो “काठमाडौ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा संघीयता वरदान हो ।”

गण्डकी प्रदेश सरकारले छ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उहाँले जानकारी दिनुभयो । हाल पाँच जना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका ९ वटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर संघीयताको बिरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाई थियो ।

“यो व्यवस्थामा जनताले आफुलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिको रुपमा चुन्ने अधिकार छ । मन नपरे बिरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,” उहाँले भन्नुभयो “हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउदै गएको बिर्सनु भएन् ।”

मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

म्याग्दीको पूर्वाधार लगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गर्नुभयो ।

मंगला गाउँपालकाका अध्यक्ष सतप्रसाद रोका र वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपियाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः  ३० हजार र २० हजार रुपियाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।