ताजा समाचार:
Search

सातौं बागलुङ महोत्सवको तयारी पुरा

ठाकुरप्रसाद आचार्य
बागलुङ ,पुस १० गते ।

भोली देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको भोली बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिने भएको छ । महोत्सव उद्घाटन गर्न बुधबार विहान राष्ट्रपति पौडेल बागलुङ आउने कार्यक्रम तय भएको छ ।

निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन बुधबारदेखि सुरुहुन लागेको सातौं बागलुङ महोत्सवलाई उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लाग्नुभएको हो ।

बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टागेर बजारलाई सिङ्गारिएको छ । महोत्सवको सवै तयारी पुरा भएको छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भन्नुभयो, ‘‘राष्ट्रपतिलाई स्वागत गर्न बजारबासी आतुर छन् । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’’

राष्ट्रपति पौडेलले बुधवार बिहान १० बजेसम्ममा बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

मन्दिर दर्शन पश्चात दिउसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलबाट महोत्सवको उद्घाटन गरिने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातीका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ । महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सय सय ६९ वटा स्टल तयार पारिएको छ । महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ ।

महिला तथा पुरुष भलिबल प्रतियोगिता लगायतका खेलको सम्पूर्ण तयारी भएको आयोजकले जनाएका छन् । महोत्सवमा ताराखोलाको स्थानीय उत्पादन आलु, अल्लोको कपडा लगायतका उत्पादन, सिगाना र बिहुँको सुन्तला प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्थापन हुने बताइएको छ । महोत्सवले बागलुङको पर्यटन क्षेत्रमा टेवा पु¥याउनुका साथै आर्थिक कारोबारलाई चलायमान गराउने आशा गरिएको छ ।