बेनी नगरमा सात वटा ठुला योजना संचालन

विकल्प न्यूज/बेनी
पुस ९ गते ।


जिल्लाको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वटा ठुला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक,खानेपानी र विद्यालय भवन निर्माणका लागि उक्त योजनाहरुमा करिब ६ करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जिनियर चन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नगरपालिका भित्र सातवटा ठुला योजना संचालनको तयारी गरिएको जानकारी दिनुभयो । नगरपालिकाले संघ तथा प्रदेश सरकार सँगको साझेदारीमा उक्त ठुला योजनाहरु संचालनमा ल्याएको हो । साना र टुक्रे योजनाबाट उपलब्धी नहुने भन्दै नगरले ठुला योजना कार्यान्वयनमा जोड दिएको छ ।

सडक तर्फका चारवटा ठूला योजनामा निर्माण व्यावसायी छनौंट भई ठेक्का सम्झौता गरेर कार्यान्वयनमा प्रवेश गरेको उहाँको भनाई छ । एउटा विद्यालय भवन निर्माण र दुईवटा खानेपानीका योजना निर्माणका लागि निर्माण व्यवसायी सँग सम्झौताको प्रक्रिया थालिएको पूर्वाधार शाखाका सब–इञ्जिनियर थापाले जानकारी दिनुभयो ।

नगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुङ्गे स्थि गत वर्ष कालोपत्र गरिएको ठाउँदेखि अगाडी वडा नम्बर ९ को सिमानासम्मको एक किलोमिटरको दुरी सम्म सडक ढलान, नाली, घुम्ती,ग्रेड सुधार र कलोपत्र गर्न श्रमजीवी निर्माण सेवासँग एककरोड ३४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । यो योजना कार्यान्वनयका लागि संघीय सरकारले समपुरक अनुदान मार्फत एककरोड रुपियाँ उपलब्ध गराएको छ ।

गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ८३ लाख ५० हजार रुपियाँ लागत अनुमान गरिएको महारानीथान–छापा–डाँडाखेत सडक योजना निर्माणका लागि श्रमजिवी निर्माण सेवा सँगै ५९ लाख ५३ हजार रुपियाँमा ठेक्का लगाएको छ । यो योजनामा पर्खाल,नाली निर्माण गरी चारसय मिटर सडक कालोपत्र गरिने छ ।

यसैगरी तल्लो डडुवा जाने सडक अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक योजनामा ढलान,नाली निर्माण,पर्खा र कालोपत्र गर्ने योजनाका लागि ८० लाखको लागत अनुमान गरिएकोमा ५९ लाख ५२ हजार रुपियाँमा श्रमजीवी निर्माण सेवा सँगै ठेक्का सम्झौता गरिएको छ । यो योजनाका लागि प्रदेशको समपुरक अनुदान मार्फत बजेट प्राप्त भएको छ ।

नगरको आफ्नै बजेटबाट वडा नम्बर ४ मा पर्ने माथिल्लो तातोपानी बजार कालोपत्र गर्ने योजनाका लागि ३२ लाख ९० हजार लागत अनुमान गरिएकोमा २५ लाख ६८ हजार रुपियाँमा ठेक्का सम्झौता भई निर्माणको काम थालिएको नगरपालिकाका पूर्वाधार शाखाले जनाएको छ ।

संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत वडा नम्बर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा एक तल्लाको चारकोठे भवन निर्माणका लागि एक करोड रुपियाँ लागत अनुमान गरिएको योजनाको ठेक्का मुल्याङ्कन गरी आशयको सूचना प्रकाशन गरि सम्झौताको चरणमा छ ।
संघको विशेष अनुदान मार्फत प्राप्त भएको बजेटबाट वडा नम्बर २ खबरा खानेपानी योजना संचालनका लागि ४० लाख लागत अनुमान गरिएको योजना सम्झौताको चरणमा रहेको छ ।

संघको विशेष अनुदान र नगरपालिकाको साझेदारीमा ९० लाख रुपियाँ लागत अनुमान गरिएको पुलाडाँडा पुरुन्डे खानेपानी योजनाको पनि आशयको सूचना प्रकाशन गरी निर्माण व्यवसायीसँग सम्झौताको चरणमा रहेको पूर्वाधार शाखाका सब–इञ्जिनीयर थापाले जानकारी दिनुभयो । साना योजनालाई उपभोक्ता समिति र ठुला योजनालाई ठेक्का मार्फत कार्यान्वयनमा लागिएको बताउँदै योजनाहरुलाई प्रभाबकारी र गुणस्तरीय बनाउन नगरपालिका जुटेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार चालु आवको पहिलो चौमासीकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ चालु आवमा १७ करोड ९१ लाख ८५ हजार रुपियाँ बजेट विनियोजन भएकोमा पहिलो चौमासीकमा दुई करोड १० लाख ७८ हजार रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

यसैगरी चालुतर्फ ५२ करोड ९७ लाख रुपियाँ बजेट विनियोजन भएकोमा १४ करोड ८४ लाख ५८ हजार अर्थात् २० दशमलव ९४ प्रतिशत बजेट खर्च भएको नगरपालिकाले जनाएको छ । साना र टुक्रे योजना भन्दा उपयोगीमुलक ठुला योजनामा नगरपालिकाले बजेट विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो । नगर क्षेत्र भित्रका ग्रामिण सडकहरुको स्तरोन्नति,ढलान र कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर योजना कार्यान्वयनमा जुटेको उहाँको भनाई छ । नवविकल्प साप्ताहिकमा प्रकाशित