झीं गाउँमा आयातित मदिरा निषेध!

विकल्प न्यूज\बेनी
पुस ७ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवाहरु कुलतमा फस्ने र ठूलो धनराशी गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झिं गाउँमा आयातीत मदिरा विक्रि वितरणमा रोक लगाईएको हो । परिक्षणको रुपमा एक बर्ष अघिदेखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयबासी बताउँछन् ।

वि.स. २०७९ साल मंसिर १६ गते झिं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, संघ संस्था, स्थानीय व्यवसायी लगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातीत मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार, गाउँमा रहेका सबै होटल तथा पसलहरुले शहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् ।

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रदा युवाहरु कुलतमा फस्ने र धनराशी समेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । ‘‘ बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोगहरु पनि लाग्यो, महंगा मदिरा सेवन गर्दा ठुलो धनरासी गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधार अन्तरगत यो नियम बनाएर लागू गरेको एक बर्षमै यसले धेरै सकरात्मक प्रभाब पारेको छ ’’–वडा अध्यक्ष शेरमञ्जाले भन्नुभयो ।

सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेय पदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयबासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए । मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ ।

युवाहरु घरेलु मदिरा सेवन गर्न सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनैपनि प्रकारका मदिराजन्य पदार्थ गाउँमा नभित्रने भएकाले युवाहरुलाई समेत कुलतबाट टाढै राख्न सघाउ पुगेको स्थानीय समाजसेवी गोविन्द पाईजाले बताउनुभयो । विवाह, बर्तबन्ध, किरिया लगायतका संस्कारजन्य कार्यहरुमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकोमा आयातीत मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने गरेको छ । गाउँमा हुने यस्ता संस्कारजन्य कार्यहरुमा बजारबाट आयातीत हुने कोक, फेन्टा, स्पराइट लगायतका चिसो पेय पदार्थहरुको समेत प्रयोगलाई हटाइएको छ ।

गत बर्ष आफ्नो छोरी सुस्मा पाईजा पुनको विवाहबाट यो नियमलाई समेत गाउँमा कार्यान्वनयमा ल्याईएको समाजसेवी पाईजाले बताउनुभयो । गाउँमा आयातीय मदिरा र संस्कारजन्य कार्यमा चिसो पेय पदार्थहरुलाई प्रयोगमा निषेध गरेपछि एउटा विवाहमा १ देखि २ लाखसम्म फजुल खर्च कटौती हुने गरेको पाईजाले अनुभव सुनाउनुभयो ।

मगर समुदायको बाहुल्य बसोबास रहेको झिं गाउँमा करिब ३४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा परिचित झिं गाउँमा होमस्टे समेत सञ्चालनमा रहेको छ । यहाँ आउने पर्यटकहरुलाई स्थानीय कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाईएको मदिराको प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातीत मदिराको विक्रि तथा सेवनमा रोक लगाएका थिए । रासस