बालाचतुर्दशीमा गलेश्वरमा करिब चालिसहजार भक्तजन

ठाकुरप्रसाद आचार्य/बेनी
मङ्सिर २६ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालचतुर्दशी पर्वका अवसरमा करिब चालिस हजार भक्तजनले पूजा आजा र दर्शन गरेका छन् ।
गलेश्वर शिवालय क्षेत्रविकास कोषले हिजो सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सवै भन्दा धेरै भक्तजनहरु आएको जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘बालाचतुर्दशी पर्वका अवसरमा देशभरबाट शिवालय मन्दिरको पूजा आजा,दर्शन र शतबीज छर्न आएका थिए । हाम्रो अनुमान ३५ देखि चालिस हजार भक्तजनहरुले गलेश्वरको दर्शन गरे ।’’

भक्तजनहरुबाट संकलन भएको भेटी मंगलबार गणना गर्दा छ लाख दुई हजार २३३ रुपियाँ भेटी संकलन भएको उहाँले बताउनुभयो । भेटी रकम र भक्तजनहरुको उपस्थितिले चालिस हजार भक्तजन आएको पुष्टि भएको उहाँको भनाई छ । भक्तजनलाई शतबीज छर्न,पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयमसेवक र सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

गलेश्वरमा लाग्ने मेला पर्वमा एकैदिन संकलन भएको भेटी यसपालीको बालाचतुर्दशीमा हाल सम्मकै धेरै भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालीको बालाचतुर्दशीमा देशभरबाट भक्तजनहरु आएका छन् । साउन महिनाको सोमबार,बालाचतुर्दशी,महाशिवरात्रीको भोलीपल्टै र अन्य समयमा मासिक रुपमा मन्दिरमा चढाएको भेटी रकम गन्ने गरिएको छ ।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मुक्तिनाथ दर्शन गर्न आएका भक्तजनहरु समेत गलेश्वर शिवालयको दर्शन गर्ने गर्दछन् ।