बेनी–जोमसोम सडक ः राहुघाट–तातोपानी खण्डमा कालोपत्रेको तयारी

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मंसिर १९ गते ।

 


उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहुघाट–तातोपानी खण्डको ठेकेदार काममा फर्किएर सडक कालोपत्रेको तयारी थालेको छ ।

योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदारले पेटी ठेक्का दिने,भौगोलिक कठिनाई,प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण यो खण्डको निर्माण बिचमै अलपत्र परेको थियो ।

लामो समयसम्म योजना अलपत्र पारेपछि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने सम्मको चेतावनीपछि ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । यो खण्डमा पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा वाहेक सडक विस्तार,नाली,पर्खाल निर्माण र सबबेस विछ्याउने काम सकिएकाले कालोपत्रेको तयारी गरिएको उहाँले बताउनुभयो ।

भौगोलिक रुपमा अफठ्यारो स्थानहरु चमेरे,वैसरी र महभिर बाहेकको सडक कालोपत्र गर्नका लागि तयारी गरिएको शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सब बेसको काम सम्पन्न भएर करिब ६ किलोमिटरमा बेस राखिसकेका छौं । मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दुरी सम्मको सडक यसपालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ ।’’
यो खण्डमा विभिन्न स्थानमा गरेर ४ किलोमिटरजति पहिरो स्थल भएकाले ग्राभेल गर्ने र महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । बाँकी साढे दुई किलोमिटर साढे एकवर्ष अगाडी नै कालोपत्रे गरिसकिएको छ ।
सहायक ठेकेदार ओमकारेश्वरले राहुघाट पुल देखि कुनौटो सम्मको सडक अलपत्र पारेको र पटक पटक काम सम्पन्न गर्न ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताउनुभयो ।

यसपाली जसरी पनि निर्माण सम्पन्न गर्ने योजनाका साथ कार्यस्थलमा आएको छौं, शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, ‘‘योजना सम्पन्न नगरी हामीलाई सुखै छैन । जसरी पनि योजना सम्पन्न गरेर उम्कीने हो । दशैं तिहार र छडका कारण कामको गति सुस्त भएपनि अव निर्माणले गति लिन्छ । मजदुर र उपकरण परिचालन गरेर काम थालेका छौं । चैत–बैशाख भित्र योजना सम्पन्न गर्दछौं ।’’

ओमकारेश्वरलाई पेटी ठेक्का दिएको राहुघाट देखि कुनौटे सम्मको ८ किलोमिटर दुरीको खण्डलाई पनि छिटो सक्न पटक पटक ताकेता गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अव हामीसँग पर्खिने समय छैन ।

ओमकारेश्वरलाई अन्तिम चेतावनी दिएका छौं । एकहप्ताभित्रमा काम सुरु नगरे पेटी ठेक्का तोडेर आफै काम थाल्छौँं ।’’ काम सम्पन्न गरेको स्थान म्याग्दीको रघुगंगा गाउँपालिका ३ बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेर दुःख दिएकाले यस क्षेत्रको दिगो रोकथामका लागि आयोजनाले सोच्नुपर्ने उहाँको भनाई छ ।