एमालेको मध्यपहाडी अभियान ः बागलुङको पातिहाल्नेमा गरिने स्वागतको तयारी पूरा

विकल्प न्यूज/बेनी
मंसिर १९ गते ।


नेकपा (एमाले) ले संचालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बुधवार देखि गण्डकी प्रदेशमा प्रवेश गर्ने भएको छ । समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश सहित नेकपा एमालेका नेताहरु बागलुङको पातिहाल्ने डाँडामा पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओली सहित १५० जना नेताहरुको समूहलाई बुधबार गण्डकी प्रदेशमा नेकपा एमालेको गण्डकी प्रदेशसँगै बागलुङ जिल्ला कमिटीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

स्वागतका लागि पूर्वी रुकुम र बागलुङको सिमाना पातीहाल्नेमा नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदशेका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले गण्डकी इन्चार्ज सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा सहितको गण्डकी प्रदेशका नेता तथा नेकपा एमाले बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा जिल्ला स्तरीय नेताहरु आजै पुगिसकेका छन् । पातीहाल्नेबाट एमाले उपमहासचिवले गुरुङले संकल्प यात्रालाई सफल बनाउँन गण्डकी प्रदेशमा स्वागतको तयारी पुरा भएको बताउनुभयो ।

यात्राको क्रममा राष्ट्रिय रुपमा देखा परेको अस्थिरता, अन्योलता र प्रतिगमनकारी शक्तिले टाउको उठाउँन गरेको प्रयत्नलाई जनताले आ–आफ्नो ठाउँबाट गरेको खबरदारी प्रति आभार व्यक्त गर्दै उपमहासचिव गुरुङले एमालेप्रति जनताले देखाएको अभुतपूर्व माया, साथ सहयोगले थप उत्साहित भएको बताउनु भएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय –सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली बुधबार पातिहाल्ने आउने र बिहिबारसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमका लागि पातीहाल्नेको स्वागत केन्द्रिय सदस्य सावित्रा राना, बुर्तिवाङमा केन्द्रीय सदस्य डा.सुर्य पाठक, गलकोटमा केन्द्रीय पोलिटव्यूरो सदस्य मन कुमारी केसी र बागलुङमा इन्द्रलाल सापकोटा अहोरात्र खटिनुभएको छ ।

संकल्प यात्रा लक्षित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्मै भेला तथा अन्तरक्रिर्या समेत नगर, गाउँ तथा वडा भेला गरिसकेको छ भने सबै जनसंगठनलाई तयारीका लागि परिचालन गरेको पोलिटव्यूरो सदस्य मन कुमारी केसीले जानकारी दिनुभयो ।